विपक्षी खेलाडीको घाँटी अँठ्याउनेलाई रातो कार्ड, आर्सनल पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनलको खराब प्रदर्शनको क्रम रोकिएको छैन । आर्सनल पछिल्लो ६१ वर्षमा पहिलो पटक घरेलु मैदानमा लिगका लगातार चार खेलमा पराजित भएको छ ।

आइतबार राति भएको खेलमा बर्नलीले आर्सनललाई १–० ले पराजित गरेको हो । बर्नलीको जितमा उसले गोल पनि गर्न परेन ।

आर्सनलका पिएर एमरिकले ७३ औँ मिनेटमा गरेको आत्मघाती गोल नै बर्नलीको जितमा निर्णायक बन्यो । त्यसअघि ५८ औँ मिनेटमा ग्रानेट जाका सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।

बर्नलीका मिडफिल्डर एश्ली वेष्टवूडको घाँटी अँठ्याएका कारण जाकालाई रातो कार्ड दिइएको हो ।

पराजित भएको आर्सनल १२ खेलबाट १३ अंकसहित १५ औँ स्थानमा छ । जित निकालेको बर्नली ११ खेलबाट ९ अंकसहित रेलिगेशन जोनबाट माथि १७ औँ स्थानमा पुगेको छ ।