शंकर ग्रूपका सञ्चालकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

स्वास्थ्य सामग्रीमा कालो बजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रूपका सञ्चालक सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राखिने भएको छ ।

मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अग्रवालमाथि लगाइएको आरोप माथि छानविन गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गत बुधवार जिल्ला प्रशासनले अग्रवाललाई ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । उक्त म्याद मंगलवार सकिएको र अनुसन्धानको काम पनि बाँकी रहेकाले म्याद थप गरिएको हो ।

ज्वरो नाप्ने थर्मलगन बढी मूल्यमा विक्री गरेको आरोपमा उनी गत हप्ताको मंगलवार बालुवाटारबाट प्रक्राउ परेका थिए । 

महानगरीय प्रहरी अपराध महाशाखाको बिशेष टोलिले उनलाई प्रक्राउ गरेको थियो । यद्यपि हाल यो मुद्दामाथि महानगरीय प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ ।परिसरका प्रवक्ता होविन्द्र बोगटीले हाल अग्रवालको संलग्नताबारे अनुसन्धान भइरहेको बताए । 

‘अग्रवालमाथि अनुसन्धानको क्रम जारी छ, तर अनुसन्धान नसकिएसम्म केही भन्न मिल्दैन’, उनले भने, ‘मंगलवार थप ५ दिन हिरासतमा राखेर अुनसन्धान गर्न अनुमति पाइसकेका छौं, अब थप प्रभावकारी रुपमा अनुसन्धान अगाडि बढाउछौं ।’

प्रहरीकाअनुसार अग्रवालले चिनबाट शनिबार ज्वरो नाप्ने थर्मल गन लिएर महंगोमा बिक्री गरेका थिए । सामान्यतया रू.३ हजार ५०० पर्ने थर्मल गनलाई अग्रवालले रू.१५ हजार सम्ममा विक्री गरेको प्रहरीको भनाइ छ ।