कमलामाई नगरपालिका वडा नं. ११ का कृषक चतुरमान माझी यतिवेला निकै चिन्तित देखिनु हुन्छ । स्थानीय कमलामाई सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट आफ्ना नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ, तर उनलाई यतिवेला आफ्नो सुरक्षा भन्दा पनि मकैवालीमा लागेको अमेरिकन फौजी किराको प्रकोपले निकै सताएको छ ।
‘जिल्ला सदरमुकाममा जान गाडी छैन, हिंडेर गयो प्रहरीको गाली खानुपर्छ, सबैकुराको पर्वाह नगरी गएँ, पसलै खुल्दैन’ माझीले आफुले भोगेको पिडा यसरी पोखे । सरकारले कोरोना रोगको रोकथाका लागि मानिस आवत जावत मात्रै होइन, घरबाट बाहिरै ननिकनु भनेर सबै नागरिकमा अपील गरिहेको छभने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मानिसहरुको आवत जावतमा रोक लगाउँदै निषेधाज्ञा जारी गरेको कुरा पनि चतुरमानलाई थाहा रहेछ । ६ महिना धानले ६ महिना मकैले उत्पादनले आफ्नो जीवन निर्वाहगर्दै आएका उनलाई कोरोना महामारी भन्दा पनि आफ्नो वारीको कलकलाउँदो मकै अमेरिकन फौजी किराले निमिट्यान्न पार्न थालेको कुराले अझ बढी त्रसित बनाएको छ ।
मकै गोड्दा र जोत्दासम्म त यो किराको प्रकोप थिएन, एक्कासी कहाँबाट आयो, हाम्रो त मकैनैं भुसुक्कै खाइसक्न लाग्यो, उनले फौजी किराले खाएको मकैको बोटहरु तर्फ देखाउँदै भने । अघिल्लो वर्ष धानवालीमा देखिएको फौजी किरा अहिले मकैवालीमा देखिएपछि यसको नियन्त्रण किसानहरुको पहँुच भन्दा बाहिर रहेको चतुरमानको बुझाई रहेको छ ।
यस वर्ष खेतहरुमा लगाइएको मकै वालीमा भने अमेरिकन फौजी किराको प्रकोप ह्वात्तै बढेको पाइएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकाको मकै वालीमा प्रकोपको रुपमा देखिएको फौजी किराको विस्तार यस वर्ष जिल्लाको अधिकांश क्षेत्रमा फैलिएको आशंका गरिएको छ ।
सोही क्षेत्रका अगुवा किसान इश्वरीप्रसाद सापकोटाका अनुसार आफ्नो वडाका अधिकांश किसानले लगाएको मकै वालीमा फौजी किराको प्रकोप देखिएको छ । एकरातमैं आफ्नो मकै किराले आएको देखेपछि कमलामाई नगरपालिकाको कृषि शाखामा फोन सम्पर्कगरी प्राकृतिक रुपमा बनाईएको विषादी छिटेको र त्यसले केही कम भएको उहाँको भनाई रहेको छ । कोरोना संक्रमणका कारणले हाम्रो सरकार घर भित्रै बस भन्छ, यस्तो बेलामा खेतवारीमा लगाएको मकै अमेरिकन फौजी किराले सखाप बनाइरहेको छ, हामी सरकारले भनेको मान्ने कि फौजी किरा मार्नका लागि बाहिर निस्कने ? अगुवा किसान सापकोटाले चिन्तित हँुदै भन्नुभयो । अब हामीले कोरोना भाइरस र मकैमा लागेको अमेरिकन फौजी किरासँग एकै साथ लड्नु पर्ने अबस्था आइलागेको उहाँको निश्कर्ष थियो ।

यता कमलामाई नगरपालिकाको कृषि शाखाले आजैबाट नगरपालिकाका १४ वटै वडामा कृषि प्राविधिक मार्फत फौजी किराको प्रकोप लागेको किसान र क्षेत्रफलको विवरण सङ्कलन गर्दैछ । शाखाले तीन दिन भित्र सबै विवरण उपलव्ध गराउन निर्देशन दिइसकिएको प्रमुख देवीप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार अमेरिकन फौजी किरा १ रातमा १ सय किलोमिटरसम्म जानसक्ने भएकाले पनि अहिले रानीचुरीमा सबैभन्दा बढी प्रकोप देखिएको हो ।
एउटा बयस्क फौजी किराले एक हजार वटासम्म अण्डा पार्ने र त्यसले ३० दिनमा आफ्नो जीवनचक्र पुरा गर्ने बताइएको छ । यो किराले चौथो, पाँचौं र छैठौं चरणको जीवन चक्र पुरा गर्ने क्रममा सबैभन्दा बढी बालीको नोक्सानी गर्ने अध्ययनबाट देखिएको सापकोटाको भनाई रहेको थियो ।

कोरोना संक्रमणका बेला मकैवादीमा देखिएको अमेरिकन फौजी किराको रोकथामका लागि विपद व्यवस्थापन समिति मार्फत छिट्टै निर्णयगरी विषादी खरिदको प्रक्रिया अगाडि बढाइने र तथ्याङ्कका आधारमा किसानहरुलाई वडा कार्यालय मार्फत निःशुल्क बितरण गरिने नगरप्रमुख खड्गवहादुर खत्रीले जानकारी दिनुभयो ।

(दिपा भण्डारी, कमलामाई फिचर सेवा)