नेपाल सरकारविरुद्ध मितेरी पुलमा भारतीयको नाराबाजी

A joint team of security personnel from Nepal and India checking a horse-driven cart on the Nepal-India border at the Raxaul-Birgunj border point, on Sunday, January 24, 2016. Photo: THT

नेपालले मंसिर ३० सम्म सीमा नाका बन्द गर्ने गर्दा दुबै देशका सीमावर्ती गाउँका बासिन्दाले सांस्कृतिक कार्य, यात्रा भ्रमण तथा किनमेल गर्न सास्ती खेप्नु परेको छ। जसको कारण दैनिक वीरगंज–रक्सौल नाकामा तनावपूर्ण अवस्था सृजना हुने गरेको छ।

बिहीबार रक्सौलका बासिन्दा र भारतीय कस्टमले नेपालबाट रक्सौल जाने नेपाली नम्बरको मोटरसाइकललाई प्रवेशमा रोक लगाउँदै नेपाल सरकारको विरोध गरेका थिए। भारतीय मोटरसाइकललाई वीरगंज प्रवेशमा सशस्त्र प्रहरीले सीमामै रोक्ने तर नेपालीहरुलाई रक्सौलमा किन छिर्न दिने भन्दै रक्सौलका बासिन्दाले करिब आधा घण्टा मितेरी पुलमा प्रदर्शन र नाराबाजी गरेका थिए।

दर्शनका क्रममा पर्सा पोष्ट सप्ताहिकका संवाददाता अजित भूजेलमाथि पनि दुर्व्यवहार भएको पीडितले बताएका छन्। प्रदर्शन र नाराबाजीको रिपोर्टिङको लागि मितेरी पुलमा गएको बेला उनलाई भारतीय नागरिक तथा सुरक्षा अधिकारीहरुले दुर्व्यवहार गरेका हुन्। मितेरी पुल क्षेत्रलाई संवेदनशील क्षेत्र मानिन्छ, फोटो र भिडियो खिच्न मनाही छ भन्दै भारतीय पक्षले आफ्नो मोबाइल खोसेर फोटो समेत डिलिट गर्न लगाएको उनले सुनाए।

यता, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भने भारतले सीमा खोल्दा समस्या भएको बताइन्। ‘हाम्रो तर्फबाट बोर्डर बन्द छ। उनीहरुले खोलिदिँदा समस्या आयो। तर पनि नेपाल सरकारको नियमलाई पालना गराउन नेपाली सुरक्षा अधिकारी सक्रिय र सक्षम छन्,’ उनले भनिन्।

मितेरी पुल र ग्रामीण नाकाबाट हजारौको संख्यामा सर्वसाधारण नेपाल भारत सीमा वारपार गरिरहेकोले नेपाल सरकारले यस विषयमा आवश्यक निर्णय लिनु पर्ने उनको सझाव छ।

पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले दुवै देशको रीति संस्कृतिलाई मध्यनजर गर्दै अत्यावश्यक गतिविधि जस्तै विवाह र उपचारको लागि नाका सहज पारिएको बताए। ‘जिल्ला सुरक्षा समितिकै बैठकबाट मौखिम रूपमा यस्तो निर्णय भएको छ,’ उनले भने, ‘बिहेबारीका लागि १५ जनासम्म दुई वटा गाडी लिएर आउजाउ गर्न सक्छन्, उपचारको लागि पनि कोही भारततर्फ गइरहेको छ भने रोकिएको छैन।’

तर दुवै देशबाट पुरानो समय जस्तै सहज रूपले आउजाउ गर्न पाउनुपर्ने जनताको माग छ। जिल्ला प्रशासन कार्यालय रौतहटले एक विज्ञप्ति जारी गर्दै विवाह र उपचारको लागि गौर–बैरगनिया नाका खोलेको छ। दुई सातादेखि चलिरहेको धर्ना प्रदर्शनलाई सम्बोधन गर्न रौतहटका सिडिओ इन्द्रदेव यादवले सूचना निकाल्दै विवाह र उपचारको लागि नाका आधिकारिक रूपमा सहज पारेको जनाएका छन्।