नेकपा फुट्यो भने देशमा आगो बल्छ र भाग्य फुट्छ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जारी विवाद सचिवालय बैठकले किनारा लगाउन  सकेन भने स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्ने बताएका छन् ।

झापाको विर्तामोडमा शनिबार सिदार्थ होटल ग्राण्डसिटी प्रालीको उद्घाटन गर्दै पर्यटनमन्त्री भट्टराईले यस्तो बताएका हुन् । उक्त निर्णय पार्टी नेतृत्वविरुद्ध पनि हुनसक्ने उनको भनाइ छ।

उनले शनिबार बसिरहेको नेकपा स्थायी कमिटी बैठकतर्फ लक्षित गर्दै भने, ‘नेकपाको सचिवालय बैठकले सकेन र विवाद किनारा लाउन सकेन भने स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्छ। त्यो निर्णय पार्टी नेतृत्वविरुद्ध पनि हुनसक्छ।’

साथ‌ै उनले नेकपा फुट्यो भने देशको भाग्य पनि फुट्ने दावी गरे। ‘नेकपा फुट्यो भने देशको भाग्य फुट्छ। किन भने नेकपाको समन्यवकारी भुमिकाले गर्दा अहिलेसम्म देशमा स्थिरता छ। नेकपा फुट्यो भने देशमा आगो बल्छ,’ उनले भने।

देशका विभिन्न स्थानमा राजसंस्थाको पक्षमा भइरहेका प्रदर्शनलाई लक्षित गर्दै उनले मरेका भूतहरु सल्बलाउनु स्वाभाविक भएकाे तर मरेका भूतहरु फर्कने सम्भावना नरहेको बताए।