कपिलाकोटः मरिण गाउँपालिकाको कपिलाकोटमा भएको राष्ट्रिय युवा संघ सिन्धुलीको आजको सपथ ग्रहण कार्यक्रम पूर्व एमाले पक्षधर नेताहरुले बहिस्कार गरेका छन् ।
तीनपाटन गाउँपालिकामा भएको युवाको सपथ ग्रहण कार्यक्रममा जिल्लाका सबै नेतृत्व तह सहभागि रहेपनि मरिण गाउँपालिकाको एकता प्रक्रियामा एकलौटी ढंगले माओवादी पक्षका युवाहरुलाई समावेश गरेर कमिटी फर्मेशन गरिएको र जिल्ला पार्टी नेतृत्वका बीचमा मिलाएर लैजाने सहमति बिपरित आजको सपथ ग्रहण कार्यक्रमलाई बहिस्कार गरिएको नेकपा मरिण गाउँकमिटी इन्चार्ज रामकुमार उप्रेतीले बताउनु भयो । आजको कार्यक्रम पार्टीको विधान बिपरितछ ।
पार्टी एकताको मर्म र भावना बिपरित एकलौटी ढंगले गरिएको त्यस प्रकारका गतिविधी गैर जिम्मेवार र अबैधानिक छ, उहाँले भन्नुभयो । पार्टीलाई विधी पद्धतिमा सञ्चालन नगरी एकल ढंगले लैजाने र सामुहिक निर्णय पद्धति भन्दा पनि व्यक्ति केन्द्रीत निर्णय गर्ने, स्थानीय सरकारका काम कारबाहीलाई पारदर्शी र जनमुखी बनाऔं छलफल गरौं भन्दा एक्ला एक्लै बसौं भनेर सामुहिक पछिलाई लत्याउने कार्यले गर्दा समस्या सिर्जना गरिएको उहाँको भनाई थियो । पार्टीलाई सामुहिक ढंगले सञ्चालन गर्नका लागि निकै प्रयत्न गरिएपनि उहाँहरु एकल ढंगले चलिरहने र युवाको कमिटी फर्मेशन गर्दापनि आफुखशी गरेको र निर्णय र कार्यान्वय प्रक्रियामा सहयोग भूमिका निर्वाह गर्न नसक्ने र इमान्दार पार्टी कार्यकर्ता, घाइते अपांगता भएकाहरुलाई बेवास्ता गरेर अगाडि बढ्दा सिंगो पार्टी बद्नाम र अलोकप्रिय बन्दै गएपछि बाध्य भएर बहिस्कार गर्नु परेको इन्चार्ज उप्रेतीले बताउनुभयो । एकल ढंगले गरिने कुनै पनि कार्यक्रममा आफुहरुको संलग्नता नरहने कुरा हिजोनैं पार्टी अध्यक्षलाई जानकारी गराएको र आजको कार्यक्रममा हाम्रो तर्फका एक जना युवा पनि संलग्न नरहेको पार्टी सचिव हरि स्याङ्तानले उल्लेख गर्नुभयो ।

यसैबीच नेकपा मरिण गाउँकमिटीका अध्यक्ष गोपाल बुढाथोकीले युवाको सपथ ग्रहण गर्ने भनेर सहमति भइसकेपछि पनि अनेक बहाना बनाएर कार्यक्रमलाई पूर्व एमाले पक्षधर साथीहरुले बहिस्कार गर्नु गंभीर गल्ती र कमजोरी भएको बताउनु भयो ।
संक्षिप्त प्रतिक्रियादिंदै गाउँपालिका एकल ढंगले चल्यो, पार्टीको नियन्त्रणमा भएन जस्ता कुराहरु गरेर पूर्व निर्धारित कार्यक्रमलाई बहिस्कार गर्नुको कुनै अर्थ नरहने बताउँदै अध्यक्ष बुढाथोकीले भन्नुभयो– उहाँहरु छलफमा नआउने, निर्णय नमान्ने र बहिस्कार गरिरहे पनि त्यसले पार्टीका कामहरु नरोकिने र निरन्तर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

आजको कार्यक्रममा बहुमत सदस्य युवाहरु २८ जनाले सपथ लिएको बताउँदै अध्यक्ष बुढाथोकीले अगाडि भन्नुभयोः हामीले पार्टी अध्यक्ष राजन दाहाल, सचिव प्रदीप कटुवालकै निर्देशनमा कार्यक्रमको आयोजना र मिति तोकेको दाबीगर्दै कसैले बहिस्कार गर्दैमा पार्टीका कामहरु रोकिने छैनन् ।
कार्यक्रममा अथितिको रुपमा पुग्नु भएका संगठन विभाग प्रमुख ज्वालाप्रसाद न्यौपानेले कार्यक्रमलाई पूर्व एमाले पक्षधर नेता तथा कार्यकर्ताले बहिस्कार गरेको स्वीकारर्दे केही प्राविधिक समस्याका कारणले त्यसो हुन गएको र त्यो समस्यालाई त्यहींको पार्टी कमिटीले हल गर्ने बताउनु भयो । उहाँले अगाडि भन्नुभयोः यो कुनै ठूलो घटना होइन, सामान्य कुरा हो, त्यो हल भइहाल्छ ।
नेकपा सिन्धुलीका सचिव प्रदीप कटुवालले मरिण गाउँपालिकाको आजको कार्यक्रम गुटगत मानसिकताबाट प्रेरित पार्टी एकताको भावना र मर्म बिपरितको गतिविधी भएको बताउनु भएको छ । उहाँले मरिणमा देखिएको समस्या हल गरेर मात्रै कार्यक्रम तय गर्ने भन्ने कुरा भएको अबस्थामा एकल ढंगले अगाडि बढ्नु दुःखद भएको टिप्पणी गर्नुभयो ।
