काठमाडौं : नेपाल आयल निगमले मंगलबार पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटायो । तर, काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोल÷डिजल छैन भन्ने बोर्ड टाँसेर पम्प बन्द गरिए ।
निजी पम्प बन्द हुँदा उपभोक्ताहरू सरकारी स्वामित्वका पम्पमा लामो लाइनमा बस्न बाध्य भए । निगमको कमजोरीका कारण आमउपभोक्ताले सास्ती खेप्नुपर्यो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटको कारण स्वचालित मूल्य प्रणालीको आधारमा मूल्य घट्ने निश्चित थियो । तर, झन्डै एक सातासम्म मूल्य घटाइएन । भारतीय आयल निगम कर्पोरेसनले अंग्रेजी महिनाको १ र १६ तारिखमा पठाउने नयाँ मूल्य सूचीका आधारमा निगमले पेट्रोलियमको मूल्य घटाउने सूचना फैलिएपछि व्यवसायीले निगमबाटै पेट्रोलियम पदार्थ खरिद गरेनन् । १ तारिखमा मूल्य घट्ने भएपछि व्यवसायीले केही दिनअघिदेखि नै निगमबाट इन्धनको खरिद गर्न कम गरेका थिए ।
निगमले मंगलबार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटायो । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ४० र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर १ सय रुपैयाँ घटाएको छ ।
त्यसो त, पेट्रोलियम पदार्थको भाउ बढ्ने सूचना पाउनेबित्तिकै सक्दो स्टोर गर्ने र भाउ घट्ने सूचना पाउनेबित्तिकै निगमबाटै नल्याउने अवस्था स्वचालित प्रणाली लागू भएदेखि नै हुँदै आएको छ । निगमका उच्च अधिकारीहरूले नै सूचना चुहाउने गरेको आरोप लाग्ने गरेको छ । यो उपभोक्तामाथिको गम्भीर अपराध भएको भन्दै सूचना दिने निगमका कर्मचारी र पम्पका सञ्चालनलाई कारबाही गर्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् । बुधबार सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पबाहेक प्रायः सबै पम्पमा पूरै इन्धन ‘सोल्ड आउट’ हुनुमा निगमसँग प्रस्टै मिलेमतो पुष्टि हुने उनको दाबी छ । मूल्य घट्दा देशभर एकैसाथ पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको हो ।
निगमले मूल्य घट्ने सूचना आफूनिकट पम्प व्यवसायीलाई दिँदा देशैभरका पम्पहरूका इन्धनको कृत्रिम अभाव भएको हो । व्यवसायीलाई किन्दा घाटा हुने हुँदा शुक्रबारदेखि नै डिपोबाट इन्धन खरिद गरेका थिएनन् । उपत्यकामा सामान्य अवस्थामा दैनिक ८ सयदेखि साढे ८ सय किलोलिटर इन्धन बिक्ने गरेको छ । तर, मूल्य घट्ने सुइँको पाएपछि मंगलबार पेट्रोल जम्मा १८१ किलोलिटर (१ लाख ८१ हजार लिटर) र डिजेल जम्मा ६६ हजार लिटर मात्र बिक्री भएको थियो । त्यसैले नै बजारमा कृत्रिम अभाव सिर्जना गरेको निगमले जनाएको छ ।
मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पलाई कारबाही गर्नुपर्ने राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बताए । ‘पेट्रोलियम पदार्थको मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन लुकाएर उपभोक्तालाई सास्ती दिने पेट्रोल पम्पहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउनुुपर्छ,’ उनले भने, ‘बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई दुःख दिने तथा मूल्य घट्दा इन्धन बिक्री रोक्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुँदैन । इन्धन बिक्री नगर्ने पम्पमाथि कारबाही गर्नुपर्छ ।’
निगमका प्रवक्ता मनोजकुमार ठाकुर बजारमा केही व्यवसायीका कारण कृत्रिम अभाव सिर्जना गरिएको बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण स्वचालित मूल्यकै आधारमा मूल्य घट्ने भएपछि पेट्रोलियम पदार्थ लोड नगरेकाले समस्या आएको उनले स्वीकारे । निगमले सहज रूपमा पेट्रोलियम पदार्थ उपलब्ध हुँदाहुँदै पनि लोड नगरेर ‘पेट्रोलियम छैन’ भनेर बोर्ड राख्नेलाई अनुगमन गरेर कारबाही गर्ने भएको छ । प्रवक्ता ठाकुरले भने, ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड भएर मागअनुसार तेल गइसकेको छ । पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ, अब समस्या हुँदैन ।’











