संसारभर महामारी शुरू भएपछि भारत लगायत तेस्रो देशबाट नेपाल फर्केका नेपालीलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तत्काल रोजगारी दिन नसक्ने श्रम मन्त्रीले बताएका छन्।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले यादवले भने, “त्यस्ता नेपालीहरूलाई स्वदेशमै रोजगारी दिने गरी कार्ययोजना अघि बढेको भए पनि तत्कालै व्यवस्थापन गरिहाल्न सक्ने अवस्थामा हामी छैनौँ।”
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गर्न भनेर यो वर्ष करिब पाँच अर्ब रकमभन्दा बढी स्थानीय तहहरूमा पठाएको मन्त्री यादवको भनाइ छ।
उनी भन्छन्, “तर ती आयोजनाले नेपालमै रहेका युवालाई समेटेको छ र प्रक्रियागत रूपमा विदेशबाट फर्किएकालाई अहिलेको समयमा समेट्न सकेको छैन।”
सङ्घीय या प्रादेशिक सरकारले रोजगारी उपलब्ध गराउन नसकेकैले दशौँ हजार नेपालीका पाइला पुन: भारततर्फ वा तेस्रो मुलुकतर्फ लागिसकेका छन्।
महामारीको विपत्को त्रासमा घर सम्झेर फर्केका तर काम नपाएर भारत जान लागेका नेपालीहरूले बीबीसीसँगै भनेका थिए, “हामीलाई काम भएन बिहानबेलुका हातमुख जोर्न पाइएनन त्यसैले फेरि अर्काकै ठाउँ जाने सोचेका हौँ।”
“खासगरी भारतबाट फर्किनेहरू तोकिएका नाकाबाट औपचारिक रूपमा बाहेक पनि ठूलो सङ्ख्यामा प्रवेश गरेकाले ठ्याक्कै सङ्ख्या यकिन छैन। तर अहिले भारत फर्किनेको सङ्ख्या नै डेढ लाख जति पुगिसकेको छ,” श्रम मन्त्रीको यो भनाइले नेपालीहरू फेरि अर्काकै देशमा फर्किरहेको भन्नेबारे उनी जानकार छन् भन्ने पुष्टि हुन्छ।
चैत यता ठ्याक्कै कति नेपाली भित्रिए भन्ने यकिन तथ्याङ्क सरकारसँग नरहेको मन्त्री यादवको भनाइ छ।
तर अनुमानित करिब तीन लाख भारतबाट फर्किएको र तेस्रो मुलुकबाट करिब ७५ हजार नेपाली फर्किसकेको उनले बताए।
गैरसरकारी संस्थाहरूले भने भारतबाट फर्किनेको सङ्ख्या नौ लाख भन्दा बढी रहेको बताउने गरेका छन्।
सरकारले गत वर्ष बैशाखबाट रोजगारी कार्यक्रममा आवद्ध हुन आह्वान गर्दै फारम भर्न आह्वान गरेको थियो।