लियोनल मेस्सी कप्तानीको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।
क्लबबाट बाहिरिन चाहेर पनि बाध्य भएर बार्सिलोनामै रहेका कप्तान मेस्सीसहितको गोलमा बार्सिलोनाले घरेलु मैदानमा भएको सिजनको पहिलो खेलमा भिल्लारियललाई पराजित गरेको हो ।
बार्सिलोनाले भिल्लारियलमाथि ४–० को शानदार जित निकाल्ने क्रममा आन्सु फातीले दुई तथा मेस्सीले एक गोल गरे । बार्सिलोनाले एक गोल उपहारमा पायो । चारै गोल पहिलो हाफमा भएको हो।
फातीले १५ र १९ औँ मिनेटमा गोल गरी बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ३५ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । ४५ औँ मिनेटमा भिल्ला रियलका पाउ टोरेसले आत्मघाती गोल गरेका हुन् ।

मेस्सीले ला लिगामा पछिल्लो १७ सिजनमा लगातार गोल गर्दै आएका छन् । युरोपका शीर्ष पाँच लिगमा पछिल्लो १७ सिजनमा गोल गर्ने मेस्सीसहित, रोनाल्डो र रियल मड्रिडका सर्जिओ रामोस मात्र हुन् ।
बार्सिलोना छोड्ने असफल प्रयासपछिको पहिलो लिग खेलमा मेस्सीले गोल गरेर टिमलाई जित दिलाएका हुन् । बार्सिलोनासँग रिसाएका वा मन कुँडिएका मेस्सीले त्यसको असर खेलमा भने पर्न दिएका छैनन् ।