घरेलु मैदानमै लेस्टर सिटीले पार्‍यो स्तब्ध

चार वर्षअघि अप्रत्यासित रुपमा लिग विजेताका रुपमा उदायको लेस्टर सिटीले यो सिजन पनि इंग्लिस प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गरिरहेको छ ।

लगातार जित निकालिरहेको लेस्टर सिटीले आइतबार राति भएको खेलमा बलियो टिम पेप गार्डिवलाको म्यानचेस्टर सिटीमाथि ५–२ को शानदार जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले पहिलो हाफमा बराबरी भए पनि दोस्रो हाफमा थप गोल गरे जित निकालेको हो ।

चौथो मिनेटमा नै रियाद महरेजको गोलबाट अग्रता लिएको घरेलु टोली म्यानचेस्टर सिटीले त्यसलाई जोगाउन सकेन। यो खेलमा ह्याट्रिक गरेका जेमी भर्डीले ३७ औँ मिनेटमा पाएको पेनाल्टीमा लेस्टर सिटीका लागि बराबरी गोल फर्काए ।

उनले ५३ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा ५८ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरी ह्याट्रिक पूरा गरे । ७७ औँ मिनेटमा जेम्स म्याडिसनले लेस्टर सिटीका लागि चौथो गोल गरेका हुन् ।

८४ औँ मिनेटमा महरेजको सहयोगमा नेथन आकेले म्यानचेस्टर सिटीका लागि गोल गरे । ८८ औँ मिनेटमा लेस्टर फेरि पेनाल्टी पाए, त्यसलाई सदुपयोग गरी योरी टिएल्मन्सले गोल गरे र टिम ५–२ ले विजयी भयो ।

जितपछि शीर्ष स्थानको लेस्टर सिटीको तीन खेलबाट ९ अंक भएको छ । सन् २००५ यता म्यानचेस्टर सिटीले पहिलो पटक घरेलु मैदानमा पाँच गोल खाएको हो ।

लिग अन्तर्गत आइतबार राति नै भएका खेलमा वेष्ट ह्यामले वुल्भ्सलाई ४–० तथा लीड्सले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेका छन् । यस्तै टोटनह्याम र न्यूक्यासलले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।