आइसोलेशनमा बस्नुपर्ने नियम तोड्नेलाई १५ लाख जरिबाना

इङ्गल्यान्डमा एक्लिएर बस्न अर्थात् सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता गरे वा तोडे त्यस्ता व्यक्तिलाई १०,००० पाउण्डसम्म जरिवाना हुनसक्ने त्यहाँको सरकारले बताएको छ।

नयाँ कानुनी कर्तव्य अन्तर्गत कोरोनाभाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ।

नयाँ नियम अन्तर्गत कम आय भएकालाई एकपटक ५०० पाउण्ड सहायता दिनुपर्ने र आइसोलेशनमा बस्न बिदा नदिने रोजगारदातालाई पनि सजाय हुनेछ।

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि प्रधानमन्त्री बोरिस जोनसनले प्रतिबन्धहरू कडा पार्दै गर्दा यी नियमहरू लागु गर्न लागिएको बताएका छन्।

नयाँ नियमको अर्थ

शनिवारमात्रै इङ्गल्यान्डमा कोभिड-१९ का ४,४२२ नयाँ बिरामीहरू थपिएका छन् र सङ्क्रमित २७ जनाको मृत्यु भएको छ।

जरिबाना सुरुमा १,००० पाउण्ड हुनेछ भने दोहोर्याएर नियम तोड्ने र “एकदमै नराम्ररी नियम तोड्ने”लाई १०,००० पाउण्डसम्म हुन सक्नेछ।

त्यहाँ अहिलेसम्म सेल्फ आइसोलेशनमा बस्ने सुझाव केवल निर्देशनका रूपमा मात्रै दिइएको थियो।