कोरोना मुक्त भएर मैदान फर्किएका एमबाप्पेले गरे गोल, पिएसजीको लगातार दोस्रो जित

नयाँ सिजनको सुरुको दुई खेलमा लगातार पराजित भएको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) त्यसपछिका खेलमा लगातार विजयी भएको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले निसमाथि ३–० को जित दर्ता गरेको छ । कोरोना भाइरसबाट संक्रमित भएका कारण लिगको सुरुका तीन खेल गुमाएका केलियन एमबाप्पे आइतबार रातिको खेलमा पिएसजीको टिममा थिए ।

संक्रमण मुक्त भएपछि मैदान फर्किएका एमबाप्पेले ३८ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरी पिएसजीलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा एन्जल डी मारियाले गोल गरी अग्रता दोब्बर बनाए ।

६६ औँ मिनेटमा डी मारियाको सहयोगमा मार्क्वीन्होसले गोल गरेपछि पिएसजी ३–० ले विजयी भयो । यो खेलमा पिएसजी नेइमार बिना थियो । अघिल्लो खेलमा रातो कार्ड पाएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेको छ ।