पाल रेलवे कम्पनीले जयनगर-जनकपुर रेल सेवा संचालनका लागि अर्डर दिएको ट्रेन सेट डेलिभर गरिदिन भारतीय कम्पनीलाई पत्राचार गरेको छ।
उक्त ट्रेन सेट भित्र्याएर परीक्षणपछि सेवा सञ्चालनको तयारी गरिएको विभागले जनाएको छ। कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले भने ‘दुवै ट्रेन सेट डेलिभरी गरिदिन पत्राचार गरेका छौं।’ आफ्नै रेल चलाउने भन्दै नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट अर्डर गरेको थियो। गत वर्ष नै अर्डर गरिएका दुवै ट्रेन सेट उक्त कम्पनीले तयार पारिसकेको छ। सीमापारि बिहारको हाजीपुरमा ल्याएर राखिएका ट्रेन सेट भित्र्याइहाल्नु अघि विभागले तयारीका निम्ति समय मागेको थियो।
‘हामीले किनेको धेरै समय भयो। उनीहरु नै आत्तिइसके। धेरैपटक लैजाउ भनिसके,’ महाप्रबन्धक भट्टराइले भने, ‘अब हामी भित्र्याउँछौं। कहिले सम्भव हुन्छ पठआउनुस् भनेका छौं।’ उनका अनुसार चालु महिनाभित्रै आइपुगेमा आगामी असोजबाट रेल सेवा सञ्चालन हुन सक्छ। कुनै प्राविधिक समस्या आए असोज पहिलो सातासम्म भए पनि रेल ल्याइने दाबी उनले गरे।
नेपाल रेलवेका अधिकारीहरुका अनुसार नेपालले जनकपुर-जयनगर खण्डमा चलाउन लागेको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो। दुवै सेट ट्रेन कोंकर्ण रेलवेले चेन्नइस्थित आफ्नो सवारी डिब्बा कारखानामा सात महिनाअघि तयार पारेको हो।
ट्रेन सेट नेपालले स्वीकार्नका लागि त्यसको कमिसनिङ र टेष्टिङ गर्नुपर्ने हुन्छ। नेपालमा ल्याएर परीक्षण गरेर मात्रै औपचारिकरूपमा जिम्मा लिइने महाप्रबन्धक भट्टराइले बताए। उनका अनुसार अहिले कम्पनीले २० प्रतिशत मात्रै भुक्तानी पाएको छ। औपचारिकरूपमा जिम्मा लिएपछि बाँकी ८० प्रतिशत भुक्तानी दिइने छ।
नेपालले करिव ८६ करोड रुपैयाँमा दुइ सेट डेमु ट्रेन खरिद गरेको हो। ट्रेन सेट ल्याएर सुरूमा जयनगरमा राखिनेछ। त्यहाँ पार्किङ स्टेशन बनाइएको छ। दिनभर संचालन गरेर राख्नका लागि जयनगरमा पार्किङ स्टेशन बनाइएको भट्टराइले बताए।