फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोग अनिवार्य

कोरोना संक्रमितको संख्या लगातार बढ्न थालेपछि फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पेरिस र आसपासका क्षेत्रमा प्रहरीले पैदल यात्रु र साइकलमा यात्रा गर्नेलाई पनि मास्क अनिवार्य प्रयोग गर्न भनेकाे छ।

तर कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन। पेरिस घना बस्ती भएको क्षेत्र हो जहाँ ७० लाख भन्दा धेरै मानिसहरुको बसोबास छ।

पेरिस प्रहरीले एक सूचना जारी गर्दै भनेको छ ‘ स्वास्थ्य स्थिति लगातार बिग्रिरहेको छ त्यसैले हामीले कडा कदम चाल्नपर्ने बाध्यता आइलागेको हो।’

फ्रान्समा अहिलेसम्म दुई लाख ५९ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये ३० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ।