क्रिष्टियानो रोनाल्डोको शानदार प्रदर्शनका बाबजुद इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा स्थान बनाउन सकेन।
अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्टसले फ्रेन्च क्लब लियोनलाई २–१ ले पराजित गर्यो।
तर जित निकालेर पनि युभेन्टस स्तब्ध नै बन्यो । समग्रमा २–२ को बराबरी भए पनि अवे गोलका आधारमा लियोन क्वाटरफाइनलको यात्रा तय गर्न सफल भयो।
अवे मैदानमा भएको पहिलो लेगमा युभेन्टस १–० ले पराजित भएको थियो। सोही पराजय वा अवे मैदानमा गोल गर्न नसक्नु उसका लागि घातक बन्यो।

शुक्रबार राति भएको खेलमा रोनाल्डोले ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए। त्यसअघि १२ औँ मिनेटमा पाएको पेनाल्टीमा लियोनका लागि मेमफिस डिपेयले गोल गरेका थिए।
६० औँ मिनेटमा रोनाल्डोले गोल गरेर युभेन्टसलाई दोस्रो लेगमा २–१ को जित दिलाए । तर डिपेयको पेनाल्टी गोलले लियोनलाई अघिल्लो चरणमा लग्यो। लियोनले अब लिस्बनमा हुने नकआउट फरम्याटको क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्ने छ।
रोनाल्डोले च्याम्पियन्समा अहिलेसम्म १३० गोल गरेका छन्। तर उनका लागि व्यक्तिगत गोलले खुशी दिन सकेन, टिम बाहिरिँदा।
उनले करनर प्रहारलाई हेड मार्फत टिमका लागि शुक्रबार रातिको खेलमा तेस्रो गोल गर्ने प्रयास गरेका थिए। तर बल गोलपोस्ट माथिबाट गएपछि सपना समाप्त भयो।

रोनाल्डोले रियल मड्रिड र म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिगको उपाधि जितेका छन्। तर युभेन्टसबाट जित्नका लागि अझै पर्खनु पर्ने भएको छ। लगातार नवौँ सिजन सिरी ए को उपाधि जितेको युभेन्टसले सन् १९९६ यता च्याम्पियन्स लिगको उपाधि भने जितेको छैन।