सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।
केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’ हटाउन भनेको छ। उक्त निर्देशनपछि विगतको जस्तै नियमित रुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै सञ्चालन गर्नुपर्ने हुन्छ।
कोरोनाको सङ्क्रमण बढेको भन्दै गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै सीमित समयका लागि सञ्चालन गरेका थिए। यस्तै पछिल्ला दिनमा उनीहरुले सिफ्ट प्रणालीमा आफ्ना शाखा सञ्चालन गरेका थिए।
बैंकिङ कारोवारको समयसम्म नियमित रुपमा बैंक तथा वित्तीय संस्थाका शाखा खोलेर सेवाग्राहीलाई सेवा दिन राष्ट्र बैंकले परिपत्रमा उल्लेख गरेको छ।
केन्द्रीय बैंकले स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण परिपालना गर्न, कार्यालयमा भीडभाड कम हुने वातावरण बनाउनसमेत निर्देशन दिएको छ।