विराटनगरस्थित एक नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप चारजना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार थप चारजना प्रहरीमा संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । बुधबार एकजना प्रहरीमा संक्रमण देखिएको थियो ।
त्यसपछि २२ जनाको स्वाब संकलन गरिएको परीक्षणमा थप चारजनामा संक्रमण देखिएको उनले बताए ।
परीक्षणका लागि पठाइएका मध्ये १२ जना प्रदेश प्रहरी कार्यालय र अन्य १० जना बाहिरका प्रहरी कार्यालयमा कार्यरत थिए । संक्रमितको दर्जा र उमेर भने खुलाइएको छैन ।
सक्रमित चारैजना पुरुष हुन् । उनीहरुलाई उपचारका लागि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ । प्रहरी कर्मचारीलाई संक्रमण देखिएसँगै संक्रमित प्रहरीको सम्पर्कमा रहेका र कोभिड–१९ को लक्षणदेखिएका मध्ये १ सय ५० जना प्रहरीको स्वाब संकलन गर्ने काम अहिले भइरहेको प्रवक्ता पोखरेलले जानकारी दिए।
प्रहरीमा धमाधम संक्रमण पुष्टि हुन थालेपछि प्रदेश प्रहरी कार्यालय बुधबारदेखि नै सिल गरिएको छ । आवतजावत र भेटघाट गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउँदै कार्यालय सिल गरिएको हो । कार्यालयमा एकअर्काबिच भेटघाट तथा बाहिरबाट आवतजावत गर्न पूर्ण रुपमा रोक लगाइएको कार्यालयका प्रवक्ता पोखरेलले जानकारी दिए ।