दुई देशबीचको सम्बन्ध चिसिरहेका बेला अमेरिकाले चीनलाई टेक्सासमा रहेको उसको कन्सुलेट कार्यालय हटाउन निर्देशन दिएको छ। अमेरिकाले त्यसका लागि शुक्रबारसम्मको समयसीमा दिएको छ।
अमेरिकाको बौद्धिक सम्पत्तिको रक्षाका लागि उक्त कदम चाल्नु परेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाको उक्त कदम बेतुक भएको प्रतिक्रिया दिएका छन्।
हस्टनस्थित कन्सुलेट कार्यालय रहेको भवनको बीचमा रहेको खाली जग्गामा केही व्यक्तिले भाँडामा कागज बालिरहेको फुटेज बाहिर आएपछि अमेरिकाले यस्तो कदम चालेको हुन सक्ने बिबिसीले उल्लेख गरेको छ।
कोरोना भाइरसको विश्वब्यापी महामारी सुरु भएयता चीन र अमेरिकाबीच सम्बन्ध चिसिँदै गएको छ। विश्व अर्थतन्त्रमा पकड राख्न भाइरसलाई चिनले उत्पादन गरेको आरोप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउँदै आएका छन्।
अमेरिकाको कानुन मन्त्रालयले मंगलबार मात्र कोरोना भाइरसविरुद्ध खोप बनाइरहेका प्रयोगशालाहरुमा चीनले लगानी गरेर ह्याकर परिचालन गरेको आरोप लगाएको थियो।
अमेरिकी विदेश मन्त्रालयले निकालेको वक्तव्यमा भनिएको छ- हामीले हस्टनस्थित चिनियाँ कन्सुलेट कार्यालय बन्द गर्न निर्देशन दिएका छौँ। अमेरिकाको बौद्धिक सम्पत्ति र निजी गोपनीयताको संरक्षणका लागि यस्तो कदम चालिएको हो।
अमेरिकामा चीनको दुतवासबाहेक पाँचवटा कन्सुलेट कार्यालय रहेको छ। चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई पुनर्विचार गर्न आग्रह गर्दै नत्र उचित जवाफ दिने चेतावनी दिएको छ।