बाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका विचारमा पुष्पलालसँग कसैको तुलना हुँदैन : प्रधानमन्त्री केपी शर्मा ओली

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली फोटोः प्रेस सल्लाहकार सूर्थ थापाको फेसवुक वालबाट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनलेले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता, बाम–लोकतान्त्रिक संयुक्त जन–आन्दोलनका वैचारिक प्रणेता कमरेड पुष्पलालप्रति यस अवसरमा विज्ञप्ति मार्फत् यो कुरा भनेका हुन् ।

पुष्पलालको अगुवाईमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नु अगाडि पनि नेपालमा कम्युनिष्ट नेता र कार्यकर्ता थिए तर, कम्युनिष्ट आन्दोलनको ब्यवस्थित राजनीतिक र सांगठनिक आकार थिएन प्रधानमन्त्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

‘कमरेड पुष्पलालकै अगुवाईमा कम्युनिष्ट आन्दोलनको संस्थागत थालनी, समाजको तत्कालिन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र संगठनको स्थापनामा भयो’ प्रधानमन्त्रीले हस्ताक्षर गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

विचारका हिसाबले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नु पर्ने के हो र कसरी अगाडि बढ्ने भन्ने व्यवस्थित वैचारिक मार्गदर्शन अघि सार्दै पुष्पलालले सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाउनु भएको साथसाथै पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाउनु भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक सम्पूर्ण रुपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गरेको उल्लेख गरेका छन् ।

उनले विचारलाई विचारको रुपमा मात्रै होइन, व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भनेर संगठन निर्माण गरेको र बाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन नसक्ने बताएका छन् ।

पुष्पलालको सपना साकार पार्ने बाटोमा विभाजित कम्युनिष्ट आन्दोलन एकतावद्ध, राष्ट्रब्यापी र मजवुत भएको र पार्टीले करिव दुई तिहाई बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ विज्ञप्तिमा उल्देख गर्दै प्रधानमन्त्री ओलीले पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरैहदसम्म पूरा गरेको उल्लेख गरेका छन् ।

देशलाई समृद्ध बनाउने साधन पार्टी भएको र पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य रहेकोमा उनले जोड दिएका छन् ।

हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाक्षा अगाडि सारेका छौं । हामी यसअघि गर्न नसकेका र नगरिएका तमाम कामहरु गर्दैछौं भन्दै प्रधानमन्त्री ओलीले पुष्पलालका नीतिहरु आजका सन्दर्भमा यिनै रहेको प्रष्ट पारेका छन् ।

‘ पुँजी र प्रविधिलाई हाम्रा प्रयासहरुमा मिसाऔँ, उत्पादन बढाऔँ, निर्यात बढाऔँ, आयात घटाऔ’ प्रधानमन्त्रीले भनेका छन् ‘यस बाटोबाट हामी समृद्धि हासिल गर्ने छौँ । र, आज हामी समृद्धिका लागि मेहनत गरिरहेका छौं । अहिले कम्युनिस्ट पार्टीको सरकारले समानतालाई समृद्धिसँग जोडेर अघि बढिरहेको तथ्य स्पष्ट छ ।’

आजको पिंढीले आफ्नो जीवनमा समृद्धि सहितको समानता हासिल गरी पुष्पलालका योगदान स्मरण गर्नेछ । पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने संकल्प गर्दै ओलीले ४२ औं स्मृति दिवसमा उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।