भारतीय कांग्रेसका बागी नेता सचिन पायलटले आफू भारतीय जनता पार्टी (भाजपा) मा सामेल नहुने बताएका छन् । उनले समाचार संस्था पिटिआईसँग आफू भाजपा नजाने बताएका हुन् । कांग्रेसलाई सत्तामा ल्याउनका लागि कडा मेहनत गरेको उनले बताएका छन् ।
राजस्थानको पछिल्लो राजनीतिक घटनाक्रमबारे इन्डिया टूडेलाई दिएको अन्तर्वार्तामा सचिन पायलटले आफू मुख्यमन्त्री अशोक गहलोतसँग असन्तुष्ट नरहेको बताएका छन् ।
सचिनले भनेका छन्, ‘म उहाँसँग निराश वा असन्तुष्ट छैन । मैले कुनै विशेषाधिकार पनि मागेको छैन। हामी सबै यो चाहन्छौँ कि कांग्रेसले चुनावमा जनतासँग जुन वाचा गरेको थियो त्यो पूरा गरोस्।’
उनले अघि भनेका छन्, ‘हामीले वसुन्धरा राजे सरकारविरुद्ध अवैध उत्खननको मुद्दा उठाएका थियौँ। सत्तामा आएपछि गहलोत जीले यो विषयमा केही गर्नु भएन, उहाँ वसुन्धरा राजेकै मार्गमा चल्नु भयो ।’
उनले भनेका छन्, ‘सन् २०१७ मा वसुन्धरा सरकारले जुन संशोधनलाई खारेज गरेर जयपुरमा रहेको सरकारी भवन सदाका लागि प्राप्त गरेकी थिइन् । गहलोत सरकारले सो भवन खाली गराउनु पर्ने थियो तर उहाँले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याउनु भयो ।’
गहलोत भाजपाको मार्गमा चलेको र उनीहरुलाई नै सहयोग गरिरहेको सचिन पायलटको भनाई छ।

उनले भनेका छन्, ‘उहाँ म र मेरा समर्थकलाई राजस्थानको विकासमा काम गर्न दिनु भएको छैन । कर्मचारीहरुलाई मेरो निर्देशन पालना नगर्न भनिएको छ । फाइल मसम्म आउँदैनन् । महिनौँदेखि क्याबिनेट तथा विधायक दलको बैठक भएन । त्यो पदको के अर्थ जसमा बसेर मैले जनताको सेवा गर्नै पाउँदिन ?’
राजस्थान कांग्रेसका युवा नेता सचिनलाई विधायक दलको बैठकमा सहभागी नभएको भन्दै उप–मुख्यमन्त्री तथा कांग्रेसको राज्य प्रमुखबाट मंगलबार हटाइएको थियो ।
त्यसपछि सचिनको अबको मार्ग के हुनेछ भन्नेबारे सबैको चासो छ । उनी भाजपा जाने, नयाँ क्षेत्रीय पार्टी खोल्ने वा कांग्रेसमै रहने विल्कप छ । भाजपा नजाने बताएर उनले एक विकल्प तत्कालका लागि खारेज गरेका छन् ।











