नेकपाको अस्तित्व रक्षाका लागि ११ भाइको सक्रियता ?

‘घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, वर्षमान पुन, प्रदीप ज्ञवाली, योगेश भट्टराई, विष्णु रिमाल, मणि थापा र शक्ति बहादुर बस्नेत अर्थात नेकपामा ११ भाइ दोस्रो तहका नेताले पार्टी एकता कायम राख्न वैठक गरे । वैठक कृषि मन्त्रालयमा भयो । वैठकले पार्टी फुटन नदिन शीर्ष नेतृत्वलाई दबाब दिने र पार्टी पङ्क्तिलाई आस्वस्त पार्ने लगायतमा प्रतिबद्धता जनाउँदै अघि बढ्ने सहमति भयो ।’

केही दिनअघि यस्तै समाचार प्रकाशित भएको थियो । भनिरहनु पर्दैन, बैठकमा भेला भएका ११ नेता चिरपरिचित मात्र होइनन, आ–आफ्नो गुटका खम्बा नै हुन । शीर्ष नेताको नाममा देशभर गुट चलाउन माहिर क्षमता राख्ने यी नेताहरुले एउटै विचार र दृष्टिकोण बनाएका हुन भने शीर्ष नेताले केही पनि गर्न सक्दैनन् भन्ने उनीहरुकै अभिव्यक्तिले प्रष्ट पार्दछ । तर, शीर्ष नेताहरु मिलेका छैनन र मिलनबिन्दु के हो ? स्पष्ट भइससकेको छैन । देखिनलाई दोस्रो तहका नेताहरु एकै ठाउँ भेला हुन्छन । यस्तो र उस्तो गर्ने भन्छन, तर शीर्ष नेताहरु उनीहरुको सुन्दैनन भन्ने पार्न खोजिएको छ । वास्तविकता त्यस्तो छैन । शीर्ष नेतालाई विगार्ने नै यिनै ११ भाइ जस्ता नेताहरु हुन ।

भेला भएका ११ नेताको क्रियाकलाप हेरौं, मन्त्री बन्नु अघिसम्म भुषाल र भट्टराई नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री के.पी शर्मा ओलीका सबैभन्दा आलोचक थिए । मन्त्री भएपछि त्यो सम्भव हुने कुरा रहेन । अब अहिले मन्त्री पद कायम राख्दै पार्टी एकता गर्न भूमिका खेल्नुछ, त्यो पनि गुटलाई खल्तीमै राखेर, जुन चाहेको बेला निकाल्न सकियोस । त्यही पहलको लागि भुषालले मन्त्रालयमै छलफल गराए । बैठकमा सहभागी रिमालको कुरा गरौं, अहिले प्रधानमन्त्रीको रुपमा ओलीको जे जति विफलता छ, त्यसको प्रमुख कारण रिमाल पनि हुन । उनी हरेक विफलता र विवादमा जोडिन्छन । ओलीलाई दुवै पद छोडनु हुँदैन भन्ने अभियानमा अग्रपङ्क्तिमा छन् ।

पोखरेल प्रदेश ५ को मुख्यमन्त्री छन् । उनी पनि पार्टीको विवाद मिलाउन सक्रिय छन् । मुख्यमन्त्री रहेकै समयमा नेकपाको प्रदेशका इन्चार्ज समेत रहेका उनले प्रदेशको अर्थमन्त्री समेत अर्कोलाई दिएका छैनन् । सातै प्रदेशमा अर्थमन्त्री समेत आफैसँग राखेका मुख्यमन्त्री उनी एक्ला हुन । अनि भन्छन, मैले पद छोडनुपर्छ भने छोड्न तयार छु । ओली गुटलाई देशभर नेतृत्व गर्न उनी फेसबुकबाटै समेत सक्रिय छन् । प्रदेश ५ मा मिल्ने जति पद लिएका छन् तर टाढाको कुनै प्रदेशको एउटा गाउँमा केही भयो भने प्रतिक्रिया दिएर गुटको नेतृत्व गर्छन ।

ज्ञवाली शालीन भूमिकामा रहन्छन, तर मन्त्री पद र ओली गुट छोड्नै नसक्ने गरी । उनलाई प्रधानमन्त्री ओलीलाई उक्साउने पात्रको रुपमा चित्रण त गरिदैन । तर सरकारबाट भएका कतिपय गलत काम र गुटको कतिपय गलत कामको व्यवस्थापन सम्हाल्न भित्रभित्रै लागि पर्छन । रिमाल, पोखरेल र ज्ञवालीले ११ भाइको बैठकमा आएर जे बोल्छन, त्यही कुरा संकेतको रुपमा मात्र भने पनि प्रधानमन्त्री ओली मान्न बाध्य हुन्छन । तर उनीहरु त्यसो गर्दैनन । बाहिर चर्चा आउन भने बैठक बस्छन ।

साविक एमालेको माधव कुमार नेपाल गुटका खम्बा पाण्डे अहिले पनि प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिने मागमा अडिग छन भन्ने कुरा उनले विभिन्न सञ्चारमाध्यममा दिएका अभिव्यक्तिले पुष्टि गर्छ । प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा गराउन भएका गोप्य बैठकमा उपस्थित भएर त्यसको उग्र समर्थक जनाउने पाण्डे दोस्रो तह या पुस्ताको नाममा हुने ११ भाइको बैठकमा भने रिमाल, पोखरेल र ज्ञवालीसँग बसेर एउटै धारणा बनाउने प्रयास गरेको भनेर चर्चामा आउँछन । बेलाबेलामा अर्थमन्त्रीको रुपमा समेत चर्चामा आउने उनी उनी मन्त्री नहुन्जेल मात्र भुषाल र भट्टराईको भूमिकामा रहेका त होइनन ? प्रश्नको उत्तर छैन ।

११ नेताको बैठकमा सहभागी शर्मा, पुन र बस्नेतको कुरा गरौं । उनीहरु पूर्व माओवादीभित्र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चरपटाउन नदिने र प्रचण्डलाई बलियो बनाउने नाममा सँधै फाइदा लिने नेता हुन । उनीहरु प्रचण्डलाई अन्य गुट या नेतासँग मिल्न नदिई घेराबन्दीमा राख्छन । प्रचण्ड वरिपरि बसेर राम्रै फाइदा लिएका उनीहरु अहिले पनि प्रचण्डलाई आफ्नो घेराभन्दा बाहिर जान नदिने प्रयासमा छन् । उनीहरुको दौडधुप त्यसैको लागि हो । पुनलाई मन्त्री कायम राख्नुछ, कथंकदाचित खुस्केमा श्रीमती ओनसरी या खास सहयोगीलाई बनाउनुछ । बस्नेतलाई पनि मन्त्री कायम राख्नुछ । खुस्किहालेमा श्रीमती सत्यालाई ल्याउनु छ । शर्मालाई सके गृहमन्त्री नसके कुनै प्रभावशाली मन्त्री हात पार्नु छ । उनी नेकपा सचिवालय बिघटनको माग राख्छन । सायद सचिवालय विघटन भएर स्थायी समितिमा अधिकार आएमा बलियो हुने सपना देखेका होलान ।

रायमाझीलाई फेरि सरकारमा जानुछ । लामो समय डा. बाबुराम भट्टराईको गुटका दोस्रो नेता भएका उनी अहिले डा. भट्टराई नभएपछि त्यो गुटको विरासत धानेर पद र सत्ताको बार्गेनिङ गर्नु छ । आफूलाई वरिस्ठ नेता बताउने रायमाझीले ७० वर्ष नाघेकाहरुलाई पार्टीबाट विदाइ गरेर आफूहरुले नेतृत्व पाउनुपर्ने दावी गरेर विचार, योजना, विधिको भन्दा पनि सत्ता र पदको बहसलाई केन्द्रमा राखेको स्पष्ट छ । द

थापा यस्ता पात्र हुन, जो जनयुद्धमा लागे पनि कहिल्यै कुनै जिम्मेवारी नपाएका नेता हुन । भेला भएका ११ भाइ नेतामा सबैभन्दा कम व्यक्तिगत स्वार्थ भएका र विगतमा स्वार्थपूर्ति नगरेका थापा साहित्यकार र संगितकार भएकाले भावनात्मक छन् । एकताको कुरा गर्न बोलाएको ठाउँमा गए होलान ।

त्यसैले कृषि मन्त्रालयमा बैठक बसेका दोस्रो तहका नेताले जे माग राख्छन या जे चर्चा गर्छन, त्यो उनीहरुले आफू सक्रिय रहेको देखाउने फण्डा मात्र हो । उनीहरुले जो नेता वरिपरि रहेर जे गरिरहेका छन्, ती नेतालाई बाहिर भने जसरी भन्ने र नउचाल्ने हो भने अहिलेको जस्तो स्वार्थपूर्ण लडाई देखिने थिएन । उनीहरुले सही भूमिका निभाएको भए नेताहरु अहिलेको जस्तो विवाद गर्ने थिएनन् ।

विचार र पार्टी गुटमा सदैव अलग अलग नेताको कोटरीमा बसेर राजनीति गर्ने नेताहरु यतिवेला अनौठो खालको पार्टी अभ्यास गरिरहेका छन् । वैकल्पिक नेतृत्वका रुपमा हेरिएको यो टिमको गैर राजनीतिक वैठक तत्कालको समस्याको समाधानभन्दा विल्कुलै आफ्नो अस्तित्व रक्षाका लागि भएको सक्रियताले आगामी कम्युनिस्ट आन्दोलनको भविस्यमाथि नै प्रश्न खडा गरिरहेको छ । नारान कुमार उपाध्याय, समयबद्ध साप्ताहिकबाट