‘फ्रेन्च लिग वान चाँडै अन्त्य गर्नु ठूलो गल्ती’

फ्रेन्च लिग वान फुटबल चाँडै अन्त्य गर्ने निर्णय गर्नु ठूलो गल्ती रहेको र त्यसले नेतृत्वको अभाव टड्कारो रुपमा देखाएको लियोनका अध्यक्ष जिन–मिशेल ओलसले बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण फ्रेन्च लिग वान फुटबल मार्च १३ मा रोकिएको थियो, तर त्यसपछि यो सिजनका खेलहरु भएनन् ।

पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई अप्रिलमा विजेता घोषणा गरी लिग चाँडै नै टुंगियो । टुलुज र एमिएन्स लिग टू मा रेलिगेट भए ।

तर जर्मनी, स्पेन, इटाली तथा इंग्ल्याण्डका शीर्ष लिगहरु भने बन्द रंगशालामा भएका छन् । ती देशका लिगहरु मे र जुनमा पुनः सुरु भएका हुन् ।

बिबिसीसँगको अन्तर्वार्ताको क्रममा लियोनका अध्यक्षले अवस्थाको मूल्यांकन गरी लिग उपयुक्त समयमा पुनः सुरु गर्नु पर्नेमा हतारो गरेर अन्त्य गरिएको बताएका हुन् ।