युट्युबरसँग भड्किइन् साम्राज्ञी– ‘हेडलाइन हेरेपछि औषधि खानुपर्छ’

नायिका साम्राज्ञी राज्य लक्ष्मीदेवी शाहले आफू अहिले कुनै पनि सञ्चार माध्यममा नजाने बताएकी छन्। उनले आफ्नो इन्स्टाग्रामबाट नै जे जे भन्न मन लाग्छ, भन्ने तर मिडियामा नजाने बताएकी छन्।

‘जतिबेला मलाई भन्न मन लागेको थियो, केही बोलिहाले पनि त्यो कुरालाई उचालेर हेडलाइन पढ्दाखेरि नै घिन लाग्ने बनाइएको छ,’ आफ्नो इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै उनले भनेकी छन्, ‘हेर्दा हामीलाई नै सहयोग गरेको जस्तो तर कुरा उछालिएको हुन्छ। अनि फाइदा पनि उनीहरुलाई नै हो।’

उनले भिडियोमा अगाडि भनेकी छन्, ‘अन्तवार्तामा कुरा बुझेजस्तो गर्ने तर भिडियो सार्वजनिक गर्दा कुरा काटेर हाल्ने गर्छन्, जसले गर्दा उल्टो हामीलाई नै नराम्रो बनाएर पेश गर्ने। म थाकिसकेँ।

मलाई मात्र हैन, धेरै जना कलाकारलाई यो कुरासँग समस्या छ। हाम्रो मुख देखाएर हामीलाई नराम्रो बनाएर पैसा कमाउने मान्छेहरु टन्नै छन् युट्यूबमा। त्यसैले मैले अहिले इन्टरभ्यू दिन नमानेको । मैले पहिला पनि धेरै इन्टरभ्यू दिइसकेँ।

यही कुरा दुई वर्षअगाडि मैले बोल्दा धेरै गाली पाएको छु। मैले झुट बोलेको हैन, चाहिने कुरा बोल्दा पनि गाली पाएको छु मैले। त्यसैले मैले म मेरै ठाउँबाट जान्छु भन्ने निर्णय गरेँ। किनभने मलाई चाहिएन यो युट्युब, किनभने यसले जहिले पनि हामीलाई उछालेको मात्र छ। उडाएको छ, हामीलाई नराम्रो देखाएर पैसा कमाएको छ। अरे यार हामीलाई पनि पैसा देऊ!

युट्युबरहरुलाई कलाकारको सम्मान छ भने भिडियोमा आउने नकारात्मक कमेन्टलाई किन डिलिट गरिँदैन, कमेन्ट सेक्सन किन बन्द गरिँदैन? मलाई यो कामसँग पनि समस्या छ। केटा कलाकारको कम हुन्छ तर केटी कलाकारहरुकोमा धेरै नराम्रो कमेन्टहरु लेखिएको हुन्छन्। यो शब्द म बोल्न सक्दिन।

उहाँहरुलाई ज्ञान हुन्थ्यो भने नकारात्मक कमेन्टलाई भिडियोमा स्थान नै दिनुहुन्नथ्यो।

मलाई हाँसो उठ्छ की दर्शकले बुझ्नु हुन्न की हेडलाइन देख्दा अनि अन्तवार्ता भित्र अर्कै हुँदा कसरी पच्छ ? कतिजनाको त लाइसेन्स पनि छैन होला तर क्यामरा बोकेको छ, माइक बोकेको छ अन्तवार्ता बनाएको छ।

त्यसैले मैले कुनै पनि सञ्चारमाध्यममा म अन्तर्वार्ता नदिने निर्णय लिएको छु। ‘सो कल्ड न्यूज लेख्ने मान्छे’ युट्युबर्ससँग त म जाँदै जान्न।

हाम्रो खुट्टा तानेर हाम्रै बेइज्जत गरेर पैसा कमाउनेहरुसँग फेरि म आफ्नो बेइज्जत गर्न नगएको कारण त्यही हो। धेरै कलाकारलाई यो कुरा मन परिरहेको हुँदैन। किनभने चलचित्रको प्रमोशनमा हाम्रो चलचित्रको निर्देशकहरुले भन्नुहुन्छ, मैले कति पल्ट निर्देशकलाई भनेको पनि छु, यो मान्छे राम्रो हैन। बरु हामी टेलिभिजनमा जाऔँ, एफएममा जाऔँ।’

उहाँले मलाई सम्झाउनुहुन्छ, ‘हैन साम्राज्ञी उनीहरुकोमा भ्यूज टन्नै हुन्छ। धेरै दर्शक समक्ष पुगिन्छ। भन्नुहुन्थ्यो।’ म त्यो कुराको धेरै सम्मान पनि गर्छु।

मैले उहाँलाई भन्थे, ‘यिनीहरुले केही न केही कुरा बिगार्छ हेर्नुहोला।’ ‘हैन, गर्दैन गर्दैन साम्राज्ञी, पत्याऊ न हामीले पैसा तिरेका छौँ’ भन्नुहुन्थ्यो। फेरि हेडलाइन बाहिर आयो जस्ताको तस्तै, टाउको दुख्ने, औषधि खानुपर्ने।

कतिले नेपाली समाचार हेर्नुहुन्छ, हेडलाइन त्यस्तो बनाएका छन् भने त्यो भिडियो नहेर्नुहोला, उनीहरुलाई कमाउने मौका नदिनुहोला।’

साम्राज्ञीले युट्युबरलाई पैसाको लागि जे पनि गर्ने भनेर व्यंग्य गर्दै लेखेकी छन्, अब मैले पनि एउटा युट्युब खोल्नुपर्‍यो। पकेट मनिको लागि एक्स्ट्रा पैसा पनि हुने भयो।’