सेरेना विलियम्सको नजर युएस ओपनको उपाधिमा

विश्व टेनिस स्टार सेरेना विलियम्स

विश्व टेनिस स्टार सेरेना विलियम्सका प्रशिक्षक प्याट्रिक मोराटोग्लूले सेरेना यो वर्षको युएस ओपन टेनिस खेल्न अति इच्छुक रहेको बताएका छन् ।

३८ वर्षकी विलियम्स गएको वर्षको युएस ओपनमा फाइनलमा पुगेकी थिइन् ।

यो वर्षको युएस ओपन टेनिस आउँदो अगस्ट ३१ देखि सुरु हुने तयारी छ । तर कोरोना भाइरसको महामारीका कारण विभिन्न प्रतिबन्धहरु लागु गरिएका छन् ।

प्रशिक्षक प्याट्रिकले सेरेनाबारे बिबिसी रेडियोसँगको अन्तर्वार्तामा भनेका छन्, ‘उनी टेनिसमा फर्किएको पक्कै पनि ग्राण्ड सलाम जित्नका लागि हो । उनको उद्देश्य नै त्यहि हो ।’

उनले अघि भने, ‘कुनै पनि खेलाडीलाई प्रतिस्पर्धाबाट बाहिर रहनु अति कठिन कुरो हो । त्यसैले युएस ओपनमा उनी खेल्न चाहन्छिन्, र यो नै विजयको पहिलो यात्रा पनि हुन सक्छ ।’

पूर्व विश्व नम्बर एक सेरेनाले युएस ओपनको उपाधि ६ पटकसम्म जितेकी छन् । उनी गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनमा तेस्रो चरणबाट बाहिरिएकी थिइन् ।

उनले यो वर्षको सुरुवात अक्ल्याण्ड ओपनको उपाधि जितेर गरेकी थिइन् । सो उपाधि सन् २०१७ को सेप्टेम्बरमा आमा बनेपछिको उनको पहिलो उपाधि पनि हो ।

नोभाक जोकोविच, राफायल नाडाल, निक किर्गिओस र सिमोना हालेपसहितका खेलाडीले समर्थक तथा मिडियाको उपस्थिति बिना कडा नियमकाबिच हुने यो वर्षको खेलमा सहभागी हुन कठिन हुने खालको अभिव्यक्ति दिएका बेला सेरेना सहभागी हुने प्रतिक्रिया आएको हो ।