चीनको राजधानी बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न केही क्षेत्रमा अझ लकडाउन विस्तार गरिएको छ।
कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा पनि बढाइएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार बेइजिङमा सङ्क्रमणका एक सयभन्दा बढी घटना देखिएका छन्।
पछिल्लो सात हप्तायता बेङजिङमा विदेशबाट आएका व्यक्तिहरूमा मात्रै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।

परीक्षण
पछिल्लो प्रकोपलाई शहरको सबभन्दा ठूलो थोक बजारसँग जोडेर हेरिएको छ।
केही दिनअघि सिनफडी मार्केटमा ५१७ जनाको परीक्षण गर्दा ४५ जना कोभिड- १९ बाट सङ्क्रमित भएको फेला परेका थिए।
- चीनबाट अरू कसरी तर्सिन्छन् भन्ने कोरोनाभाइरस प्रकोपले यसरी स्पष्ट पारिदियो
- चीनमा सार्वजनिक यातायातको त्रास हटाउन ‘रोबोट्याक्सी’को प्रयोग
उनीहरूमध्ये कसैमा पनि लक्षण देखिएको थिएन। त्यसपछि उक्त बजार र वरिपरिका २१ वटा क्षेत्रमा लकडाउन गरिएको छ र उक्त बजारमा काम गर्ने १० हजार कर्मचारीको परीक्षण गर्ने भनिएको छ।
स्थानीय सञ्चारमाध्महरूका अनुसार भाइरस विदेशबाट आयात गरिएको साल्मन काट्न प्रयोग गरिएको चपिङ्ग बोर्डमा देखिएको पत्ता लागेको थियो।
लगत्तै बेइजिङका सुपरमार्केटहरूले माछा बेच्न छाडे। अन्य केही अधिकारीसहित सिनफडी बजारका महाप्रबन्धकलाई पदबाट बर्खास्त गरिएको छ।