काठमाडौं/निर्वाचन पर्यवेक्षण समितिले २०८२ फागुन २१ गते (सन् २०२६ मार्च ५) मा हुने प्रतिनिधिसभाको संघीय निर्वाचनको देशैभर पर्यवेक्षण गर्ने तयारी गरेको छ ।
समितिका अनुसार सातै प्रदेशअन्तर्गत रहेका १६५ वटा संघीय निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गरिनेछ भने सम्भव भएसम्म देशका सबै ७७ जिल्लामा पर्यवेक्षक परिचालन गरिनेछ। यसका लागि दीर्घकालीन तथा अल्पकालीन निर्वाचन पर्यवेक्षक परिचालन गर्ने योजना बनाइएको छ ।
निर्वाचन पर्यवेक्षण समितिका उपाध्यक्ष बद्रीप्रसाद शिवाकोटीका अनुसार निर्वाचन आचारसंहिताको पालना, पारदर्शिता, मतदाताको सहभागिता, चुनावी खर्च, समावेशिता, लैङ्गिक तथा जातीय प्रतिनिधित्व, सीमान्तकृत समुदाय र अल्पसंख्यकको अधिकार संरक्षणलगायतका विषयमा विशेष ध्यान दिइनेछ ।
उनले निर्वाचन व्यवस्थापन निकायको भूमिका, मतदान वातावरणको सिर्जना, तथा मतदाता र उम्मेदवारहरूको सुरक्षा र सुरक्षित निर्वाचन सुनिश्चित गर्ने पक्षको समेत सूक्ष्म अनुगमन गरिने जानकारी दिए ।
इओसि नेपालले काठमाडौंमा केन्द्रीय समन्वय इकाइ स्थापना गरी प्रदेशस्तरीय समन्वयकर्तामार्फत सूचना संकलन, सम्प्रेषण र अनुगमन गर्ने जनाएको छ । संकलित तथ्यांक र सूचनाको विश्लेषण गरी अन्तिम निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गरिनेछ ।
मतदान सम्पन्न भएलगत्तै मतदानकै दिन वास्तविक समयको प्रारम्भिक निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्ने तयारी पनि समितिले गरेको छ ।
यस्तै, निर्वाचनअघि सबै पर्यवेक्षकलाई आवश्यक तालिम दिएर मात्र फिल्डमा परिचालन गरिनेछ । विषयगत पर्यवेक्षणअन्तर्गत चयन गरिएका केही निर्वाचन क्षेत्रमा चुनावी खर्च र प्रचार–प्रसारको नमूना मूल्याङ्कन गरिने इओसि नेपालको योजना रहेको छ ।
डिजिटल माध्यममा फैलिने गलत तथा भ्रामक सूचनाको अनुगमनका लागि सूचना प्रविधि विज्ञहरूको विशेष टोली गठन गरिने समितिले जनाएको छ । सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजनमार्फत मतदातालाई भ्रमित पार्ने दुष्प्रचारको पहिचान र प्रतिवेदन गर्ने कार्यसमेत गरिनेछ ।










