सिन्धुलीः नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् सिन्धुलीका नेता कौशल कोइरालाले पार्टी अध्यक्षको राजिनामा माग्नेहरुकै राजिनामा मागेका छन् ।
केही दिन अगाडि सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा व्यक्त भएका बिचारलाई आधार मानेर कोइरालाले अध्यक्ष केपी शर्मा ओलीका राजिनामा माग्ने केन्द्रीय सदस्यहरुलाई आफ्नै राजिनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका हुन् ।
भूमि समस्या समाधान आयोगको निर्वमान अध्यक्षसमेत रहेका कोइरालाले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेकाछन्ः ‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षको राजिनामा माग्दा राजिनामा नदिएपछि अध्यक्षको राजिनामा माग्नेले नैतिकताको आधारमा राजिनामा दिए मुड फ्रेस हुन्थ्यो । नत्र कुण्ठाले डिप्रेशन हुन्छ ।’
नेता कोइरालाले उक्त कुरा लेखेपछि एमालेका नेता कार्यकर्ताहरुले आक्रोसपूर्ण प्रतिक्रिया जनाएका छन् । उनको पोष्टमाथि प्रतिक्रिया जनाउँदै शिक्षक नेता रमण फुयाँल लेख्छन्ः आफ्नो पार्टीको बैठकमा राखेको बिचारलाई सामाजिक सञ्जालको मसला बनाउनु उपर्युक्त हुँदै हुँदैन । पार्टी भित्र आलोचना र आत्मालोचनाको संस्कार बिकास गरौं ।
त्यसैगरी नेपाल भूतपूर्व सैनिक प्रहरी संगठनका केन्द्रीय सचिव एवम् सिन्धुलीका एमाले नेता केदार देवकोटा लेख्छन्ः पार्टी भित्रको बैठकमा बहस, छलफल र फरक मत राख्नु के महा पाप हो हो र हजुर । फरक मत राख्ने बित्तिकै पार्टी र पद छोड्नु पर्छ र ?
एमाले उपसचिव दिपेश बराल प्रतिक्रिया जनाउँदै लेख्छन्ः ‘पार्टीलाई कमिटी प्रणालीमा चलाउन तपाईको भुमिका कत्तिको छ ? तपाईले पाएको राजनीतिक नियुक्तिको सिफारिस कुन चाहिं कमिटीले आधिकारिक रुपमा गरेको थियो ? गर्न उपयुक्त ठान्नु भएको थियो ? इतिहासले तपाईं माथी निर्मम प्रश्न सोधिरहनेछ ।
केही थान नेतालाई खुशी बनाएपछि कमिटी प्रणाली नैं नचाहिने, मिसन ग्रास रुट देखिका तल्ला कमिटीका आधिकारिक सुझावहरुलाई बेवास्ता गर्ने, नेताको भाषण नैं निर्णय हो भन्ने तवरले ब्यबस्थित छलफल नचलाउने स्थितिले यो अबस्था सिर्जनाभयो । कम्युनिस्ट पार्टीमा एउटा सदस्य र केन्द्रिय नेताको पनि हैसियत बराबर हुन्छ । हिजो अहिलेका पार्टी अध्यक्ष लगायत धेरै नेता कमरेडहरुले पार्टी निर्णय बेगरका आफ्ना बिचार सार्बजनिक मञ्चमा राखेका प्रमाणहरु छरपस्टै छन् । कसैलाई देवत्वकरण र दानबिकरण नगरौं ।’
बैदेशिक रोजगारीमा रहेका अखिल सिन्धुलीका पूर्व नेता छबि पाख्रिन लेख्छन्ः पार्टी संकटको बेला, सुझबुझ पुर्बक हामीले आन्तरिक समस्या सुल्झाउन जरुरी छ । बिवेकपुर्ण ढङ्गले पार्टी नेतृत्वमा रहेका नेताहरु ग्रासरुटलेबलका राय सुझाव, मनोबिज्ञानलाई गम्भीरतापूर्वक अध्ययन गरी संगठनलाई ससक्त बनाउनु, बर्तमान अवस्थामा जेनजी आन्दोलनबाट सिर्जित एजेण्डा सम्बोधन गर्नु पर्ने देख्छु । गल्तीलाई आत्मआलोचना गर्दै बढनुपर्ने देख्छु । बाहिरी हल्ला भन्दा भित्र सल्लाह पहिलो प्राथमिकता राखौ, चित्त नबुझे छलफल गरांै, बहस गरांै, मिडियामा स्टन गरेर होईन । यदि पार्टी भित्रै बसेर पार्टीलाई नैं खरानी बनाउनु भन्दा बिदानैं भएर बिरोध गर्दा उचित हो ।
एमालेका अर्का नेता केशव फुयाँल साइलाबाजे लेख्छन्ः यति लामो अवधिदेखि राजनीति गरेर आएको एउटा कार्यकर्ताले यस प्रकारको अभिव्यक्ति दिनु सुहाएन । पद नपाउँदाखेरि रुँदै हिँडेको तपाईंको अवस्था पनि मैंले भोगेको छु, देखेको छु । जिल्ला अधिवेशनमा बाहिर हुनुभएपछि नगरपालिकाको अगाडिसम्म तपाईलाई सान्तना दिँदै आएको म पनि हुँ । आज धेरै ठूला कुरा गर्नु पर्दैन । विचारको बहस कमिटीमा हुन्छ, नेतृत्वको कार्यशैलीप्रति सहमत, असहमत हुन सकिन्छ । म भन्छु, आफ्ना विचारहरुलाई बचाउँदै साथीहरु संगठनबाट भाग्नु हुन्न । यदि चित्त बुझ्दैन भने विचार उठाएकै कारणले राजीनामा देउ भन्नुभन्दा कारबाही गरेर देखाउनुस् ।

शिक्षक सरोज थापा लेख्छन्ः दाई कोही कसैले सामाजिक सञ्जालमा लेखेको गलत थियो र भयो तर पार्टीको आन्तरिक बैठकमा उठेका बिषयलाई सामाजिक संञ्जालको खपतको बिषय बनाउनु दुखद हुन जान्छ । अरु हजुरको मर्जी ।
न्याय क्षेत्रमा लामो समयदेखी कार्यरत निजामती नेता अनन्त न्यौपाने लेख्छन्ः भनेपछि बहुमत पदाधिकारि लगायत धेरैले राजिनामा दिनु पर्नेभयो । अबचैं हजुरहरूको पालो आउला जस्तो छ । घरभित्रका जति मान्छे निकाल्न सक्यो, पालो नपाएकाहरूलाई उति स्वाद पर्ला जस्तो छ । जय होस ।
दुधौलीका शिक्षक नेता निश्चल भुजेल कोइलाको अभिव्यक्ति प्रति प्रश्नगर्दै लेख्छन्ः ‘गतिशीलता , परिवर्तन र नविनताको चिन्तन राख्न नमिल्ने हो र ?’
शिक्षक नेता सुनिल अधिकारी कोइरालाप्रति कटाक्षगर्दै लेख्छन्ः हो भन्या ! बिरालोले यो घरका मान्छे सबै मरेदेखि अगेनाको तातोमा बसिरहन पाउँथे भन्छ रे ! भन्ने उखान हामी सानो हुँदा हजुरआमाले भन्नू हुन्थ्यो । राजिनामा माग्नै नहुने वा आफ्नो धारणा राख्नै नहुने ? हैन फरक बिचार राख्न पार्टी सदस्यले पाउँछ होला नी कि के हो हजुर ?
अर्का शिक्षक नेता सन्तोष कार्की लेख्छन्ः सक्किने मेलो । सबै जान्ने, सबैले सबैलाई पार्टी छोड्न मात्र धम्की दिने । कसैले केही बोल्नै नहुने । हैरान । सबैतिर नांगो नाच । अखिल सिन्धुलीका नेता कञ्चन पहाडी लेख्छन्ः एमालेको नाम वेचेर जागिर खाने जागिरेहरुले दिने अभिव्यक्ति यस्तै हो, मलाई चाहिं कुनै अनौठो लागेन ।
प्रगतिशिल लेखक शारदा पहाडी लेख्छन्ः यो त हदैसम्मको चाकरी भएन र ? केपी ओलीको नाम लिंदा पनि मुख कुल्ला गर्नुपर्ने अवस्थामा बहुसंख्यक जनता पुगेका छन् । रगतको खोला बगेर काख रित्तिदा, मुलुक खरानी हुँदा पनि कतै हामीमा कमी कमजोरी रहेर पो यो अवस्था सिर्जना हुन गयो कि भन्ने नेतृत्व र तपाईं जस्ता कार्यकर्तालाई महसुश छैन । अझ हुंकार बढेको छ । हामी प्राय कार्यकर्ता चाहिं लड्डु चढाउँदै, चाकरीको घण्टी बजाएर, चिल्लो लगाएर अझ उकासेका छौं । यो संस्कार कहिले फेरिन्छ र मुलुक बन्छ ?
पवनराज बराल टिप्पणीगर्दै लेख्छन्ः विचरा नेताजी ! सम्माननिय चाम्लिङ बाकोझैं यति बिघ्न चाकरी गरेपछी न खुस्केको जागिर फ्याट्ट मिल्नेपो हो कि भन्ने धङधङी छदै रैछ दाजु काम्रेडको… हैट्ट चाकरिबाद । शिक्षक मदन काफ्ले यस्तो लेख्छन्ः कति राम्रो कुरा । जय जयकार गर्नेलाई मात्र राखे हुने भयो । तर याद रहोस् पार्टी जय जयले मात्र हैन खवरदारी गर्नेले आफ्नो दायित्व अझ राम्रो सँग निभाएका हुन्छन् । राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका निवर्तमान अध्यक्ष मिजास कार्की लेख्छन्ः तँपाईको सोच देखेर दया लाग्यो, के गर्नु जागिरको लागि यति चाप्लुसि त गर्नै पर्यो ।
नेकपा एकिकृत समाजवादीका केन्द्रीय शिक्षक नेता टोमप्रसाद काफ्ले कोइरालाको भनाईप्रति टिप्पणीगर्दै लेख्छन्ः ‘एमालेजनका क्रिया प्रतिक्रिया अब झन छताछुल्ल हुँदैछन् ! हे हैरान !’ ध्रवप्रसाद घिमिरे लेख्छन्ः आकाशतिर थुक्दा अनुहारतिर पर्ला कि कमरेड ? किरण कुमार भट्टराई यसरी लेख्छन्ः होइन होला कौशल सर । ओलिको अहँ नै एमालेको प्राधिकार जस्तो देखिन्छ । जङ्ग बहादुरमा पनि यत्तिको अहँ थिएन होला ।
एमाले सिन्धुलीका नेताहरु अहिले जिल्लाका आफ्नै नेता कार्यकर्ताहरु बिरुद्ध सामाजिक सञ्जालमा गालीगलौजगर्दे उभिएका छन् । जसले तल्लो तहका एमाले नेता कार्यकर्ताहरु निराश बनिरहेका छन् । उनीहरु भन्छन्ः हाम्रा नेताहरु कहिल्यै नसुध्रिने भए ।
नेता कोइरालाले अध्यक्ष ओलीको राजिनामा माग्नेहरुले नैतिकताका आधारमा राजिनामा दिन माग गरेको ८ घण्टापछि आफ्नो छोराछोरी सहित अध्यक्ष ओलीसँगको फोटो फेसबुकमा साझा गरेका छन् । उनले अध्यक्ष ओलीसँगको फोटोसँगै लेखेका छन्ः नेकपा (एमाले) श्रद्धेय अध्यक्ष पूर्व प्रधानमन्त्री समृद्ध नेपाल, सुखी नेपालीको स्वप्नद्रष्टा राजनेता क.केपी शर्मा ओलीसँग उहाँको निवासमा भेटघाट । वर्तमान राजनीतिक विषयमा छलफल भयो ।











