आगामी भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीन भ्रमणका जाँदैछन् । त्यसैले पनि उनको यो भ्रमणका सबै नेपालीले महत्वका साथ हेरेका छन् । भारतीय स्वार्थमा नेपाली भूभागलाई व्यपारिक मार्ग बनाउने सहमति पत्रमा हस्ताक्षरपछि अहिले एकाएक चीन र भारत नजिकिँदै गएको देखिन्छ । विस्तारवादी र साम्राज्यवादी शक्तिहरुको आपसी टकरावले साना ,कमजोर अविकसित मुलुकको आन्तरिक मामलामा हस्तक्षेप र नियन्त्रणका लागि होडवाजी चलिरहेको छ ।
लिपुलेक पासबाट व्यापार गर्ने भारत र चीन बिचको सम्झौता पनि उपरोक्त अन्तरविरोधकै अभिव्यक्ति हो । यसलाई नेपालका कम्युनिष्ट पार्टीहरुले बेलैमा बुझेर देशलाई जोगाउन साझा धारणाको विकास गर्नु पर्दछ । सँगसगै देश भित्र रहेका तमाम राजनीतिक शक्तिहरुलाई भारत र चीनको उक्त कार्य विरुद्धमा मोर्चाबद्ध बनाउन विशेष पहल गर्नु पर्छ ।
अमेरिकाले चर्को भन्सार शुल्क लगाए पछि तिलमिलाएका चीन र भारतका शासकहरु आफ्ना अन्तरविरोधहरुलाई थाँति राखेर निर्यात व्यापारमा आउने गिरावट र त्यसले अर्थतन्त्रमा पार्ने नकारात्मक जोखिमलाई कम गर्न नंै यस्तो सहकार्यको निचोडमा पुगेका हुन् ।
रुस, चीन र भारतको चासो भनेको विश्व अर्थतन्त्रमा अमेरिका र युरोपेली संघको प्रभावलाई निस्तेज बनाउने र आ–आफ्नो प्रभावको विकास र विस्तार गर्ने स्वार्थसंगै मुख्यतया सम्बन्धित छ ।
पुजीवाँदी बजार ब्यवस्थापननैं अहिले उनिहरुका लागि मुख्य चुनौती बनिरहेको छ । नेपाल सरकारले हाम्रो सामु चुनौतीको रुपमा देखिएको चुच्चे नक्साको कार्यान्वयनको मुद्धालाई आफ्नो देशको राष्ट्रियताको सुदृढीकरणको लागि सुनौलो अवसरमा बदल्ने शाहष देखाउनु पर्छ ।
भारत चीनले लिपुलेक क्षेत्र प्रयोग गरेर गर्ने द्विपक्षीय व्यापार सम्झौता उनिहरुको आपसी विवादहरुलाई हल गरेर विश्वास अभिवृद्धि गर्ने लक्ष्यमा अघि बढेको देखिन्छ । यसबेला नेपालले आफ्नो तर्फबाट सहि कुटनैतिक माध्यमबाट पहल लिन सकेको खण्डमा यो प्रतिकुलतालाई अनुकुलतामा पनि बदल्न सक्ने सम्भावना विद्यमान छ । त्यसका लागि नेपाल सरकारले मिहिन ढंगले गृहकार्य गरेर प्रधानमन्त्रीको आसन्न चीन र भारतको भ्रमणलाई राष्ट्रिय हितमा सदुपयोग गर्नु पर्दछ ।
नेपाली जनताको विश्वास र भरोषा हाम्रो लागि सबैभन्दा निर्णायक शक्ति हो । त्यो भरोसा र विश्वासको लागि आवस्यक आन्तरिक समस्याहरुको उचित सम्बोधन र कार्यान्वयन तर्फ पनि सरकारले ध्यानाकर्षण हुनुपर्दछ । एकार्कालाई शत्रुतापूर्ण सम्बन्ध कायम राख्दै मिसाईल तानेर बसेका चीन र भारतको नजिकिंदै गएको सामारिक तथा व्यापरिक सम्बन्धबाट नेपालले पनि पाठ सिकेर आफ्नो देश भित्रका देशभक्त र प्रगतिशील शक्तिहरुलाई एकताबद्ध बनाउँदै विकास र सम्बृद्धिको रोडम्याप बनाउन ढिलाई गर्नु हुँदैन । (लेखक नेकपा एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य हुन् ।)










