कमलामाईका पूर्व नगरप्रमुख खड्गवहादुर खत्रीले आयोजना गरे सिन्धुलीमा भव्य दर कार्यक्रम

सिन्धुलीः महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा सिन्धुलीका महिलाहरुलाई एक भव्य कार्यक्रमका बीच दर खुवाइएको छ ।
नेकपा एमाले सिन्धुलीका नेता एवम कमलामाई नगरपालिकाका पूर्व नगरप्रमुख खड्गवहादुर खत्रीले आज सिन्धुलीमाढीमा एक कार्यक्रमको आयोजनागरी दर खुवाउनु भएको हो । अखिल नेपाल महिला संघकी जेष्ठ नेतृ पद्मा घिमिरेको अध्यक्षता एवम् बागमती प्रदेश उद्योग तथा प्रशासन मन्त्री सुकमायाँ तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै मन्त्री तामाङले नेपाली महिलाहरुले कला र संस्कृतिको संरक्षण गर्नका लागि तिज कार्यक्रम मनाइरहेको र प्रदेश सरकार पनि महलाहरुकै साथमा रहेको बताउनुभयो ।
उहाँले सिन्धुलीमा पहिलो पटक भव्य रुपमा आयोजना गरिएको यो कार्यक्रमले सिन्धुलीको महिला अधिकारको आन्दोलनलाई अझ बलियो बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
उहाँले महिला अधिकार बिना कुनै पनि राजनैतिक आन्दोलन सफल नभएको बताउँदै आयोजक एमाले नेता खड्ग खत्रीको खुलेर प्रशंसा गर्नुभयो । दर कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ गंगा दाहाल, नेकपा एमालेकी नेतृ मिथिला फुयाँल, माओवादी केन्द्री नेतृ सविता कोइराला लगायतले तिजको शुभकामना दिनुभएको थियो ।
तिजको उपलक्ष्यमा आयोजित दर कार्यक्रममा सिन्धुलीमा यति ठूलो संख्यामा महिलाहरुको उपस्थिति भएको पहिलो कार्यक्रम मानिएको छ । राजनैतिक दल सम्बद्ध महिला संगठन वा संघ संस्थाले आयोजना गर्ने दर कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने पूर्व नगरप्रमुख खड्गवहादुर खत्रीले बताउनुभयो ।