सिन्धुलीः माओवादी केन्द्र सिन्धुली परित्यागगरी नेकपा एमालेमा समाहित हुनेहरु दिनदिनै बढ्न थालेका छन् । मरिण गाउँपालिका कमिटीको बैठकमा माओवादी केन्द्रका आठ जना कार्यकर्ता आज बिनासर्त एमालेमा समाहित हुनुभएको छ । एमाले सिन्धुलीका इन्चार्ज एवम् केन्द्रीय सदस्य मनोजजंग थापाले उनीहरुलाई अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।
यसरी एमालेमा समाहित हुनेहरुमा बाबुराम गोले, जयराम, श्यामवहादुर, राजकुमार, बृषलाल, धनवहादुर, श्रीलाल र ज्ञानवहादुर गोले रहेनुभएको छ ।
उहाँहरुलाई एमालेमा स्वागतगर्दै मनोजजंग थापाले नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रुपमा नेकपा एमाले रहेको बताउँदै विभिन्न खेमामा रहेका कम्युनिष्ट पार्टीका सदस्यहरुलाई मूल प्रवाहमा समाहित हुन आग्रह गर्नुभयो ।
उहाँले नेपालमा अब धेरै नामका कम्युनिष्टहरु नरहेने बताउँदै माओवादी केन्द्रमा विघटनको प्रारंभ भएको र त्यसको सुरुवात शहिद दलवहादुर रजन मगरको छोराबाट भएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य कमलजंग राई, सल्लाहकार परिषद सदस्य रामकुमार पौडेल, बागमती प्रदेश कमिटी सदस्यहरु गणेश बुढाथोकी, गोविन्दलाल माझी, कौशल कोइराला जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । मरिण गाउँपालिका कमिटी अध्यक्ष गोपाल बुढाथोकीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । स्मरणीय छः मरिण पालिका कमिटी सिन्धुली एमालेको सबभन्दा सक्रिय कमिटी मानिएको छ ।