बालमैत्री वडा घोषणा गर्नुपूर्व सबै सूचकहरुलाई कार्यान्वयन गराउन सरोकारवालाको सुझाव

सिन्धुली: तीनपाटन गाउँपालिका वडा नम्बर ११ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएका बेला सो सँग सम्बन्धित सुचकहरु पुरा भए नभएको विषयमा सरोकारवाला निकायले चासो देखाएको छ ।
जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको नेतृत्वमा गएको अनुगमन टोलीले पालिकाको ११ नम्बर बडालाई वालमैत्री वडा घोषणा गर्ने तयारी तिनपाटन गाउँपालिकाले गरेपछि त्यसको सुचकहरु पुरा भए नभएको वारे स्थलगत अध्ययन अनुगमन गरेको हो ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी भरत खनालले बालमैत्री स्थानीय शासन ऐनमा टेकेर गर्न लागिएको वालमैत्री वडा घोषणा कार्यक्रम राम्रो भएपनि तोकिएका ५१ वटा सुचकहरु निरन्तर कार्यान्वयन हुन जरुरी भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयोः वालअधिकार, वालसहभागिता जस्ता विषयलाई कार्यान्वयनमा ल्याइएपनि उनीहरुलाई जिम्मेवार बनाउने सन्दर्भमा सुचकमा समावेश गरिनुपर्छ । सरकारले बनाएको ५१ वटा सूचकहरु अपूर्ण रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी खनालले वालवालिकालाई जिम्मेवारी र दायित्व पनि एकै साथ सिकाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले वालमैत्री वडा घोषणा गरेसँगै तोकिएका सूचकहरु पुरा नभए उक्त घोषणा फिर्ता गर्न सकिने प्रावधान पनि राख्न सुझाब दिनुभयो ।


कार्यक्रमलाई सम्बोधनगर्दै तिनपाटन गाउँपालिका अध्यक्ष कर्णवहादुर थापा मगरले वालमैत्री वडा घोषणा गरेसँगै पालिकामा आर्थिक भार थपिएपनि त्यसलाई व्यवस्थापन गरेर अगाडि बढ्ने बताउनुभयो । अहिलेसम्म तीनपाटन गाउँपालिकाको १० र ५ नम्बर वडालाई वलमैत्री वडा घोषणा गरिएको र त्यसलाई निरन्तर रुपमा अगाडि बढाइने बताउनुभयो । वालमैत्री वडा घोषणा गरेर जाँदा वार्षिक रुपमा थप वजेट व्यवस्थापन गर्दैजानु पर्ने बताउँदै ती वडाहरुमा वाल पोषणका कार्यक्रमपनि सञ्चालन गरिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्की र नरवहादुर आलेलगायतले वालमैत्री वडा घोषणा गर्नका लागि आवश्यक सूचकहरु पुरा गर्न सुझाब दिनुभयो । रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले यसै महिनाको अन्त्यम्ममा एक कार्यक्रमका बीच औपारिक घोषणा गरिने बताउनुभयो ।