अमेरिकामा ह्वात्तै बढ्न थाल्यो मृत्युदर

न्यूयोर्कको आगलागी नियन्त्रण विभाग (एफडिएनवाई)का अधिकारीलाई कोरोना भाइरसको संक्रमणपछि एम्बुलेन्समा राख्ने क्रममा । फोटोः एपी

अमेरिकामा कोभिड–१९ बाट दैनिक मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । अमेरिकामा मंगलबार एकै दिन झण्डै दुई हजारजनाको ज्यान गएको छ ।

जोन्स हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रको रियल टाइम ट्याली अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा १८ सय ९४ जनाको ज्यान गएको देखिएको छ ।

आइतबार र सोमबार ज्यान गुमाउनेको संख्या एक हजार आसपास थियो । लकडाउन खुकुलो पार्न थालिएसँगै अमेरिकामा फेरि मृत्यु हुनेको संख्या बढेको हो ।

हालसम्म कोभिड–१९ बाट अमेरिकामा ८२ हजार ३५६ जना भन्दा बढीको ज्यान गएको छ । संक्रमितको संख्या पनि अमेरिकामा १३ लाख ६९ हजार भन्दा बढी रहेको छ ।

विश्वमा हालसम्म संक्रमितको संख्या ४२ लाख ६१ हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । हालसम्म विश्वभर दुई लाख ९१ हजार ९ सय भन्दा बढीको ज्यान गएको छ ।

संक्रमितको संख्या अमेरिकापछि रुसमा धेरै भएको छ । रुसमा हालसम्म दुई लाख ३२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यहाँ २१ सय भन्दा बढीको ज्यान गएको छ ।