नेकपा स्थायी कमिटी बैठक कोरोनाकै कारण अकस्मात स्थगित

उपत्यकामा मंगलबार  नेकपाका स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षामा केही महिनाअघि सम्म खटिएका सुरक्षाकर्मी, निजी अस्पतालमा कार्यरत एक नर्स र अन्य एक जनामा  कोरोनाको संक्रमण पुष्टि भएसँगै बिहान ११ बजे बस्ने भनिएको स्थायि समिति बैठक अकस्मात स्थगित भएको छ । त्योसँगै अस्पतालमा  कार्यरत नर्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा मात्रै होइन, सत्तारुढ नेकपामासमेत ठूलो त्रास सिर्जना गरिदिएको छ ।

स्थायी कमिटी बैठक तत्काल नहोस् भन्ने चाहिरहेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक रोक्न त्यसलाई गतिलो बहाना बनाएको बुझिएको छ। स्थायी कमिटी बैठक आफ्नाविरुद्ध भएको निचोडका साथ ओली बैठक तत्कालै नराख्ने पक्षमा उभिका थिए ।

ओलीले  सबै सांसदहरुको कोरोना परीक्षण गरिएको भए पनि केही नेकपाका स्थायी कमिटी सदस्यहरुको परीक्षण नभएकोले बैठक स्थगित गरौँ भन्ने प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष राखेको बुझिएको छ।

बैठकको निर्धारित समय भन्दा दुई घण्टा अघि ‘कोरोना भाइरसको त्रास बढ्यो, बैठक स्थगित गर्नु पर्ने भयो’ भन्दै ओलीले प्रचण्डलाई फोन गरेका थिए । प्रचण्डले पनि नाइ भन्न सकेनन्।

प्रचण्डले बैठकमा हुने सम्भावित विरोध र आलोचनाको जिम्मेवारी आफैले लिने बाचा गरेपछि ओली बैठक राख्न तयार भएका थिए । यता बिरामी ओलीलाई बालुटारबाट छोडेर धुम्बाराही जानु जोखिम पूर्ण ठानिएको थियो। उनका निजी चिकित्सकले उनलाई त्यहाँ जान अनुमति दिएका थिएनन् ।