अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि पत्रकारसँग उल्झिएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार भएको कोरोना भाइरस सम्बन्धी पत्रकार सम्मेलनमा ट्रम्प पुनः पत्रकारसँग विवादमा उत्रिएका हुन् ।
अमेरिकी टेलिभिजन नेटवर्क सिबिएस न्यूजकी पत्रकारले सोधेको प्रश्नको टर्रो जवाफ दिएका ट्रम्प सिएनएनकी पत्रकरासँग पनि विवादमा उत्रिएका हुन् । पत्रकारसँगको विवादपछि ट्रम्प बिचमै पोडियमबाट बाहिरिए । उनले एकाएक पत्रकार सम्मेलन अन्त्य गरे ।

अप्रिल २७ पछि पहिलोपटक दैनिक ब्रिफिङ्गमा उपस्थित भएका ट्रम्पलाई सिबिएस न्यूजकी पत्रकार वइजी जियाङ्गले ट्रम्पले लगातार विश्वका अरु देशमा भन्दा अमेरिकामा कोरोना भाइरसको परीक्षण अधिक भएको भन्दै जोड दिने गरेकोप्रति संकेत गर्दै ‘हरेक दिन अमेरिकीले ज्यान गुमाएका छन् र संक्रमण पनि बढीरहेको छ । यस्तो अवस्थामा तपाईँलाई यो कुराको महत्व किन छ ?’ भनेर सोधेकी थिइन् ।
त्यसको जवाफमा ट्रम्पले ‘यो कुरा मलाई नसोध, चीनसँग सोध’ भने। ट्रम्पले विश्वभरि मानिस मरिहेको भन्दै ट्रम्पले पत्रकार जियाङ्गलाई भने, ‘शायद यो प्रश्न मलाई होइन तिम्ले चीनसँग सोध्नु पर्छ । मलाई नसोध । चीनलाई सोध त्यो प्रश्न । यो प्रश्न चीनलाई सोधे शायद तिम्ले अति असामान्य जवाफ पाउने छौ ।’ यति भनेर ट्रम्पले सिएनएनकी पत्रकार केटलन कोलिन्सलाई प्रश्न गर्न आग्रह गरे । तर जियाङ्गले ‘सर, तपाईँले मलाई नै किन यस्तो भनिरहनु भएको छ ?’ भनेर सोधिन् । त्यसको जवाफमा ट्रम्पले भने, ‘मैले तिम्लाई नै इंगिद गरेर भनेको होइन । त्यस्तो दुष्ट प्रश्न गर्ने सबैलाई भनेको हो ।’ सिबिएसकी पत्रकारले आफ्नो प्रश्न कुनै पनि तवरले खराब वा दुष्ट मनसायले युक्त नरहेको बताइन् ।