नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा गएको मङ्सिर १४ गतेबाट सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा भोली बिहान (मंगलवार) सिन्धुलीको खुर्कोट आइपुग्दै छ । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, बिष्णु रिमाल, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सिन्धुलीको खुर्कोटमा आउने छ भने टोलीलाई स्वागत तथा अन्य व्यवस्थापकीय पक्षका सबै कामहरु पुरा भएको एमाले सिन्धुलीले जनाएको छ ।
हामीले आवश्यक व्यवस्थापकीय पक्षको तयारी अबस्थावारे स्थलगत अध्ययन गरेर जानकारी लिइसकेका छौं, अब सिन्धुली जिल्लामा अभियानलाई सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग देखिएको छ, एमाले उपाध्यक्ष कर्ण घिसिङले प्रदेशखबरसँग भने । उनका अनुसार जनसभा स्थलमा पनि आवश्यक तयारी पुरा भइसकेको छ भने खुर्कोटमा हुने संक्षिप्त कार्यक्रमको पनि समन्वय भइसकेको छ ।
कार्यक्रमको व्यवस्थापनमा खटिएका एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रदीप कटुवालले मञ्च व्यवस्थापन र स्वमंसेवक परिचालन जस्ता विषयका कामहरु पनि सोमवार साँझसम्म पुरा भइसक्ने बताए । उनले अध्यक्ष ओलीलाई यस क्षेत्रमा ठूलो जनसमूदाय उपस्थित हुने जानकारी दिए ।
एमाले प्रचार विभाग प्रमुख सञ्जय दाहालले भोलीको कार्यक्रममा कालागि आवश्यक प्रचार अभियानलाई तिब्रता दिएको र एमाले कार्यकर्ता मात्रै होइन, विकास र सम्बृद्धिको पक्षमा रहेका मध्यपहाडी र सुनकोशी क्षेत्रका वासिन्दाहरुको ठूलो समूह कार्यक्रममा उपस्थित हुने बताए ।
सिन्धुलीको खुर्कोट सोमबार साँझसम्मा टाढा टाढाबाट एमालेका नेता कार्यकर्ताबाट भरि भराउ हुने र अध्यक्ष ओलीलाई भेट्नमात्र होइन विकास र सम्बृद्धिका सुत्रधारलाई नजिकबाट नियाल्न पनि जनमुदाय आउने देखिएको उनको भनाई थियो ।
अध्यक्ष ओलीले नेतृत्व गर्नुभएको यात्रा मङ्सिर १४ गते पुष्पलाल लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटस्थित महाकाली नदी किनारबाट सुरु भएको थियो । संकल्प यात्राको टोली आइतवार काभ्रेको धुलिखेलमा बास बसेको थियो ।
आज बिहान धुलिखेलबाट सुरु हुने यात्रा सिन्धुपाल्चोक, दोलखा हुँदै साँझ रामेछापको सदरमुकाम मन्थली आइपुग्ने छ । सोमबार दोलखाको चरिकोटमा दिउँसो सभा राखिएको छ । सो सभा सकेर अध्यक्ष ओली लगायतको अभियानको टोली मन्थली आउने अभियानमा रहेका प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जानकारी दिए ।
उनका अनुसार सोमबार साँझ मन्थलीको तीनलाल पार्कमा सन्देश सभा राखिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमसहित साँझ सभा हुनेछ भने मंगलबार बिहान अन्तरक्रिया कार्यक्रम राखिएको छ । मन्थलीको अन्तरक्रिया सकेर मंगलबार बिहान टोली सिन्धुलीको खुर्कोट हुँदै घुर्मी प्रस्थान गर्ने छ । मंगलबार घुर्मीमा सभा राखिएको छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।