सिन्धुली: फूलैफूलको पर्वका रुपमा मनाईने तिहार पर्सिबाट सुरु हुँदैछ । दसैंको समयदेखिनैं घर–आँगन र करेसा वारीमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दिन थालेझैं देखिन्थ्यो । यतिबेला सयपत्री फूलले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ८ जरुवा क्षेत्र रहर लाग्दो बनाइदिएको छ । यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री फूल सुक्न थालेपछि व्यवसायिक फुलखेतीमा लागेका किसानहरुमा भने चिन्ता थपिएको छ ।
तिहारलाई लक्षित गरेर सिन्धुलीको दुधौली नगर क्षेत्रमा व्यवसायीक फूलको खेती हुने गरेको छ । हिजोआज यहाँका किसान फूल र माला बनाउन ब्यस्त छन् । राजधानी काठमाडौ र पूर्वी तराईका जिल्लाहरु नजिकै रहेको दुधौली क्षेत्रमा लगाइएको सयपत्री फूलको मनमोहक दृश्यले सबैको मन लोभ्याएको छ । यतिबेला स्थानीय व्यवसायी मोहन महत्तोले डेढ विगाह जग्गामा लगाएको सयपत्री फूलको व्यवसायिक उत्पादनले पूर्व पश्चिम मदन भण्डारी राजमार्गमा ओहोर दोहोर गर्नेलाई पनि लोभ्याएको छ ।
महत्तोले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा बढि प्रयोग हुने सयपत्री फूलको व्यवसायिक रुपमा खेती गरेको पहिलो पटक हो । होटल व्यवसाय गरिरहेका महत्तोले सोचे अनुसार होटलमा ग्राहक आउन छोडेपछि बैकल्पिक रुपमा फूल खेती गरेको बताए ।
यस वर्ष तिहार पर्व ढिला भएकाले खेतमा फुलहरु सुक्न थालेको र भएको फुलले पनि बजार नपाउने हो कि ? भन्ने चिन्ताले आफुलाई सताएको उनले दुखेसो पोखेका छन् ।
जिविकोपार्जनको प्रमुख आधार बनाउने उदेश्यले महत्तोले फूल खेती तर्फ लागेका हुन् । यो खेतीलाई नगदेबालीको रुपमा लिइने गरिन्छ । अन्य बालीको तुलनामा किसानले दोब्बर आम्दानी फूलखेतीबाटै गर्ने आशा गरेका गरेका छन् तर, यस वर्ष भने तिहार लाग्नु अगाबैं वारीमा फुल ढकमक्क फुलेपछि भने किसानहरुको आम्दानी घटाएको उनीहरुको भनाई थियो ।
दुधौलीबाट पवन राउत