कुर्सी हल्लिएपछि सरकार गौर घटनाका मुख्य दोषीलाई कारबाही गर्नबाट पछि हट्यो: प्रभु साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरुलाई कारबाही नगरे चुप लागेर नबस्ने बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी गरे ।

कानुनको शासन छ कि कुर्सीको भन्ने प्रश्न उठेको उनले अगाडि भन्नुभयो, ‘यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन्, हाम्रो पार्टी चुप लागेर बस्दैन ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरुलाई जोगाएको, ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुको साटो सरकारी साक्षी बनाएको उहाँले स्मरण गर्नुभयो। सुन काण्डमा पनि ठूला नेताहरुको नाम आएपछि सरकार हच्किएको उहाँको दाबी छ ।गौर घटनामा पनि १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भए पनि अहिलेसम्म छानबिन समेत नगरेको उहाँले बताउनुभयो । पीडित संघर्ष समिति र सरकारबीच गौर घटनाको विषयमा सहमति गरेपनि सरकार पछि हटेको भन्दै उहाँले यदि नेपालबाट न्याय नपाए पीडितहरु अन्तर्राष्ट्रिय अदालत (हेग) सम्म जाने उहाँको चेतावनी छ ।