८ दलको सहमति राष्ट्रकै सहमति होः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ राजनीतिक दलहरुबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन्।

उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि आफूले ८ राजनीतिक दलहरुसँग सहमति गरेर अघि बढ्नु परेको स्पष्ट पारे। उनले भने, ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय, भ्रम मात्रै पैदा गर्छ। मैले दुई महिनाभित्रै तितो त्यो अनुभूति गरे।’

शनिबार काठमाडौँमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई राष्ट्रपति दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेको आग्रह अस्वीकार गरेपछि आफूले नयाँ गठबन्धन बनाएर राष्ट्रिय सहमतिका साथ अघि बढने निर्णय लिएको जिकिर गरे।

उनले लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गरेर अघि बढ्ने निर्णयबाट आफू खुशी र गौरवान्वित भएकोसमेत बताए। प्रधानमन्त्री दाहालले एमाले प्रतिपक्षमा भइसकेको उल्लेख गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेर जाने धारणा राखे। प्रधानमन्त्री दाहालले एमाले प्रतिपक्षमा भइसकेको उल्लेख गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेर जाने बताए।

‘एमाले पनि अब कतै जान सक्ने स्थिति छैन। हो प्रतिपक्षमा जान सक्नुहुन्छ उहाँहरु। करिब–करिब जानु भयो। आज मात्रै म कहाँ राप्रपाका सबै मन्त्रीले राजीनामा दिनुभयो। सम्भवतः अब कानुनी हिसाबले हामी एउटा नयाँ प्रक्रियातिर जानु नै पर्छ। सरकार नयाँ बन्छ। पुनर्गठन हुन्छ,’ उनले भने, ‘मैले हिजो आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सहमति गर्नु यो ८ दलको मात्रै सहमति होइन। सिंगै राष्ट्रकै सहमति हो।’