जनस्वास्थ्यमाथि स्थानीय प्रशासनको गंभीर लापरवाहीः सिन्धुलीमा भित्रियो भारतीय तरकारी !

स्थानीय प्रशासनले कोरोना संक्रमित जिल्लाबाट ल्याइने तरकारी तथा फलफुल आयात पूर्ण रुपमा रोक लगाएको एक सातापछि स्थानीय व्यापारीहरुको दबाबमा आफ्नै निर्णयबाट पछाडि हटेपछि सिन्धुलीमा कोरोना संक्रमणको त्रास बढेको छ ।
जिल्ला प्रशासन कार्यालयमा सिन्धुलीमा बसेको सर्वदलीय बैठकले लकडाउनको एक सातापछि भारतीय बजारबाट आउने फलफुल, तरकारीले सिन्धुली जिल्लामा जोखिम बढाउने निश्कर्षसहित तरकारी खाद्यान्न तथा पोल्ट्रीजन्य बस्तु आयातमा रोक लगाएको थियो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आफ्नो निर्णयलाई उलंघन गरेर तराई तथा भारतीय बजारबाट तरकारी ल्याई बिक्री गरेको आरोपमा २ व्यापारीलाई पक्राउगरी कारबाही स्वरुप ५ हजार रुपैयाँ जरिबानाको रसिद काटिरहँदा प्रमुख जिल्ला अधिकारी व्यापारीको दबाबमा भारतीय तरकारी बेचबिखन गर्न पाउने निर्णयमा हस्ताक्षर गरिरहेका थिए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेस, कमलामाई नगरपालिका, जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त बैठकले कोरोना संक्रमण देखिएको सर्लाही, महोत्तरी र धनुषा जिल्लाबाट निर्बाध रुपमा आयातगरी बिक्री बितरण गर्न रोक लगाएको अघिल्लो बैठकको निर्णय खारेज गरेपछि सिन्धुलीको तरकारी बजारमा जोखिमयुक्त तरकारीहरु बिक्री हुन थालेकाछन् । सर्वदलीय एवम् सर्बपक्षीय भनिएको बैठकबाट बिना जाँच कोरोना संक्रमित जिल्लाबाट तरकारी आयात खुल्ला गरिएको निर्णयलाई स्थानीय व्यापारीहरुको दबाब प्रमुख जिल्ला अधिकारीले थेग्न नसकेको रुपमा लिइएको छ ।
प्रशासनकै इच्छामा भित्रियो जोखिम युक्त तरकारी !
पुश चिकित्सकको प्रमाणिकरण सहितको पत्रसाथ आएका नेपाल भित्रनैं उत्पादित चल्ला र दानालाई ल्याउन दिनुपर्छ र कृषि ज्ञान केन्द्र वा नगरपालिकाको कृषि कार्यालयको शिफारिश बिना कोरोना संक्रमित जिल्लाबाट हरियो तरकारीहरु आयातामा रोक लगाउनु पर्छ भन्ने प्रस्ताव राखेका कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले निर्बाध रुपमा तरकारी ल्याउन दिने निर्णय पछि आफ्नो असहमति रहेको जनाउँदै बैठकबाट उठेका थिए । बैठकमा सहभागी सञ्चारकर्मीका अनुसार तरकारी निर्वाध निर्यात गराउने कार्यमा राजनैतिक दलभन्दा जिल्ला प्रशासन कार्यालयको भूमिका सबैभन्दा बलियो रहेको बताइन्छ ।
प्रमाणित नभएसम्म तरकारी रोक्नुपर्छ
बैठकमा सहभागी जिल्ला समन्वय समिति सिन्धुलीका सभापति शंकर वर्मा तिवारीले सिन्धुली जिल्लामा संक्रमित जिल्लाहरुबाट तरकारी तथा अण्डाहरु भित्र्याएर जिल्लालाई जोखिम बनाएको बताएका छन् ।
उनले बैटकमा भनेका थिएः तराईका जिल्लाबाट आउने तरकारीमा अहिले पनि भारतीय बजारका तरकारी मिसिएर आइरहेको र उपभोक्ताले खान योग्य छ, भन्ने प्रमाणित नभएसम्म सिन्धुली जिल्लामा तरकारी आयातमा रोक लगाउनु पर्छ । बर्माले बैठकमा जोखिम युक्त तरकारी अहिलेनैं खोल्न नहुने बताउँदा पनि, आफ्नो कुरा कसैले नसुनेको र स्थानीय प्रशासनकै इन्ट्रेस्टमा आयात खुला गरिएको हो ।
प्रहरी सुरक्षाकर्मी, स्थानीय सरकार प्रमुखलगायतका निकाय कोरोना रोकथाम नियन्त्रणका लागि विषेश सर्तक रहेका बेला संवेदनशिल विषयमा लापरवाही पूर्ण निर्णय गरिनु दुःखद भएको बर्माको भनाई थियो । ‘सिन्धुली जिल्ला प्रवेश गर्ने सबै नाकाहरु बन्दछन्, हाम्रो ठाउँमा कोरोना भित्रियो भने त्यो तरकारी र तराईका जिल्लाबाट मिसिएर आउने भारतीय तरकारी र अण्डाबाटै भित्रिन्छ’ सभापति बर्माको भनाई थियो ।
बैठकमै असहमति, हस्ताक्षर पनि भएन !
तरकारी आयात खोल्ने हो भने केही विधी र प्रक्रिया अबलम्मन गरौं भनेर मैंले बैठकमा राखेको थिए, तरकारी व्यवसायीलाई पनि जहाँ पायो त्यहीबाट तरकारी ल्याउने अबस्थाको अन्त्य गरौं, जोखिम नबढाऔं भनेर भनेको थिएँ, तर कुनै पनि निकायको प्रमाणिकरण बिनानैं सिन्धुलीमा हरियो तरकारी ल्याउने निर्णय गरेपछि मेरो उक्त निर्णयमा असहमति रहेको कुरा बैठकमा प्रष्ट रुपमा राखेको नगरप्रमुख खड्गवहादुर खत्रीले बताए । कोरोना संक्रमणको जोखिम बढिरहेका बेला त्यसबाट जोगिन अबलम्मन गर्नुपर्ने अबस्थामा खोल्ने निर्णय गरेर जोखिमप्रति बेवास्ता गरेको मेयर खत्रीको भनाई थियो ।
मिसिएर आउँदैछ भारतीय तरकारी
स्थानीय प्रशासनले हरियो तरकारीबाट कोरोना संक्रमण हुँदैन भन्दै सिन्धुलीमा तराईका जिल्लाबाट तरकारी आयात खुला गरेपछि अहिले बर्दिवास हुँदै भारतीय तरकारी मिसिएर आइरहेको स्वयमं व्यापारीहरुनैं स्वीकार गर्छन् । कागती, करेला, भिण्डी, बोडी, काँक्रो, आलु, प्याज, मोटरकोसा र टमाटर, लौका, मुला र हरियो खुर्सानी सस्तो मुल्यमा भारतबाट मिसिएर आइरहेको छ । तराईका धनुषा, महोत्तरी, सर्लाहीबाट आउने तरकारीमा स्थनीय किसानको उत्पादन भन्दै आइरहेको बताइन्छ । जसले सिन्धुली जिल्लाबासीलाई आतंकित बनाइरहेको छ ।