सर्वोत्कृष्ट हुन सजिलो छैन। त्यही स्तरका चुनौतीहरुलाई पन्छाउन सक्नुपर्छ। भारतीय क्रिकेटर रोहित शर्मा सिमित ओभरको स्वरुप (टीट्वेन्टी र एकदिवशीय क्रिकेट)का सर्वोत्कृष्ट ब्याट्सम्यानहरुमध्ये पर्छन्।
योस्तरसम्म पुग्न उनले विश्वका सर्वोत्कृष्ट बलरहरुको सामना गरेका छन्। ब्याट्सम्यानहरुका लागि टाउको दुखाई बन्ने बलर नै हुन्। तर कतिपय बलर खासगरी फास्ट बलरहरुको हकमा विकेट झर्ला की भन्ने चिन्ता एकातिर हुन्छ भने अर्कोतर्फ उनिहरुको बलिङसामु ब्याट लिएर उभिन सक्नुपर्ने चुनौतीपुर्ण रहन्छ।
सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका रोहित अहिले सिमित ओभरमा राष्ट्रिय टोलीको उपकप्तान छन्। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकभन्दा बढीपटक दोहोरो सतक बनाउने विश्व कीर्तिमान रोहितको नाममा छ। उनले टेस्टमा ६ सतक र १० अर्धसतक तथा एकदिवशीय अन्तर्राष्ट्रियमा २९ सतक र ४३ अर्धसतक बनाएका छन्। टीट्वेन्टी अन्तर्राष्ट्रियमा पनि उनले चार सतक र २० अर्धसतक बनाएका छन् ।
यी सफलताहरुमा उनले विश्वका होनाहार बलरहरुको सामना गरेका छन्। ३४ वर्षीय रोहितले हालसालै आफ्नो क्रिकेट करियरमा निकै डर लागेका बलरहरुका बारेमा बोलेका छन्। उनले चार जना बलरको नाम लिएका छन् जो उनकै शब्दमा बलिङ गर्न नआईदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो।
रोहितले करियरका सुरुवाती दिनमा अस्ट्रेलियाका ब्रेट लि र दक्षिण अफ्रिकाका डेल स्टेनदेखि निकै डर लाग्ने गरेको बताएका छन्। मोहम्मद सामीसँगको इन्स्टग्राम लाइभमा रोहितले अस्ट्रेलियासँगको भ्रमण गर्नुभन्दा अघिल्लो दिन ब्रेट लिकै कारण आफु राम्रोसँग सुत्न नसकेको बताएका छन्। आफ्नो पहिलो विदेश भ्रमणका रुपमा रोहितले सन् २००७ मा अस्ट्रेलियामा खेलेका थिए।
रोहितले स्टार स्पोर्ट्सको ‘क्रिकेट कनेक्टेड’मा भनेका छन्, ‘ एक जना बलर ब्रेट लि हुन्। सन् २००७ मा अस्ट्रेलिया जानुभन्दा अघिल्लो दिन ब्रेट लिका कारण राम्रोसँग सुत्न सकेको थिइन। एक सय ५० किलोमिटर प्रति घण्टा बलिङ गर्न सक्ने ब्रेट लि करियरको उच्च लयमा थिए। कसरी यी बलरलाई खेल्ने होला भनेर सोच्थेँ। म उनका खेलहरु नजिकबाट हेर्थेँ। उनी नियमितरुपमा एक सय ५० देखि १ सय ५५ किलोमिटर प्रतिघण्टा बलिङ गर्थे। त्यस प्रकारको गति भएको बलरलाई लिएर हुने सोचाईले मजस्तो भर्खरको खेलाडीको निन्द्रा पर्न सकेको थिएन।’
रोहितले ब्रेट लि टोलीमा हुँदा अस्ट्रेलियासँग ७ वटा एकदिवशीय खेल खेलेका छन् जसमा एक सय ३८ रन मात्र बनाएका थिए। यस्तै पाँच टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा १६ रन मात्र जोडेका थिए। उनले डेल स्टेनसहितको दक्षिण अफ्रिकासँग ३ टेस्ट, १४ एकदिवशीय र ३ टीट्वेन्टी खेल खेलेका छन्। यी तीनवटै स्वरुपको क्रिकेटमा रोहितको प्रति पाली औसत ३० रनभन्दा तल छ।
रोहितले दक्षिण अफ्रिकाका कागिसो राबडा र अस्ट्रेलियाका जोस हेजलउडदेखि पनि आफुलाई डरलाग्ने बताएका छन्।
‘ हाल टेस्ट क्रिकेटमा म कुनै बलरसँग खेल्नु नपरोस् भन्ने सोध्नुहुन्छ भने उनी जोस हेजलउड हुन्। उनी अनुशासित र लेन्थमा बलिङ गर्छन्। उनी सजिलै खेल्न मिल्ने गरि बल फ्याँक्दैनन्। यसबारे बुझ्न मैले उनीमाथी पर्याप्त अध्ययन गरेको छु।’ रोहितले भनेका छन्।
रोहितले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २००७ मा आयोजित त्रिकोणात्मक शृंखलामार्फत डेब्यु गरेका थिए जसमा दक्षिण अफ्रिका र आयरल्यान्ड सहभागी थिए। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक तीन दोहोरो सतक र एकै पालीमा सर्वाधिक रन बनाउने कीर्तिमान रोहितको नाममा छ। उनले इडेन गार्डेनमा आयोजित खेलमा श्रीलंकाविरुद्ध २ सय ६४ रन बनाएका थिए एकै पालीमा।
उनले श्रीलंकाविरुद्ध दुईपटक र अस्ट्रेलियाविरुद्ध एकपटक दोहोरो सतक बनाएका छन्। सन् २०१९ मा आयोजित एकदिवशीय विश्वकपमा उनले सर्वाधिक रन बनाएका थिए। प्रतियोगितामा पाँच सतक बनाएका उनी एउटै विश्वकपमा सर्वाधिक सतक बनाउने कीर्तिमानसमेत रच्न सफल भएका थिए। उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले एकदिवशीय अन्तर्राष्ट्रिय वर्ष क्रिकेटरको अवार्डबाट सम्मानित गरिसकेको छ।