युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको वार्तामा आफ्नो प्राथमिकता सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता रहने बताएका छन् ।
युक्रेन र रुसबीच आउँदो हप्ता टर्कीमा वार्ता हुँदैछ ।
जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनको सुरक्षाको प्रभावकारी प्रत्याभुति वार्ताको प्रमुख मुद्दा हुनेछ।’
‘पक्कै पनि हाम्रो उद्देश्य शान्ति र हाम्रो देशमा फेरि पनि सामान्य जीवनमा फर्किनु हो सम्भव भएसम्म चाँडो’, उनले भनेका छन् ।
यसअघि एक रुसी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताको क्रममा जेलेन्स्कीले युद्ध अन्त्यका लागि युक्रेन तटस्थ राष्ट्रका रुपमा रहनेबारे छलफल गर्न सकिने बताएका थिए ।
रुसले युक्रेन कसैको पक्षमा हुन नहुने माग गर्दै आएको छ। तर सो तटस्थ अवस्था तेस्रो पक्षबाट प्रत्याभूत गरिएको र जनमतसंग्रहबाट निर्णय लिइएको हुनु पर्ने उनले बताएका थिए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका मागहरु मध्ये पश्चिमा सैन्य गठबन्धन नेटोमा सामेल हुने तयारी त्याग्नु पर्ने रहँदै आएको छ।











