ब्रजिलको सहर पेत्रोपुलिसमा अचानक आएको बाढीपहिरोका कारण कम्तीमा ९४ जना मानिसहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
रियो दि जिनेरोको उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछिको ठूलो मुसलधारे वर्षा भएको थियो।
सडकमा पानीको भेल पस्दा कारहरू यत्रतत्र देखिन्छन् भने पहाडी खोँचमा रहेका घरहरू पहिरोका कारण सखाप भएका छन्। हिलो मिसिएको भेल मानिसहरूका घरमा छिर्दा कयौँ परिवारहरू घरबार विहीन बनेका छन्। अधिकारीहरूले विपद्लाई व्याख्या गर्ने क्रममा झण्डै एक महिनाको वर्षा बराबरको पानी केही घण्टामै परेको बताएका छन्।
रियो दि जिनेरो राज्यका गभर्नरले त्यो सन् १९३२ पछिको ठूलो वर्षा भएको बताएका छन्। पेत्रोपुलिस सहरका मेअरले त्यहाँ आपत्काल घोषणा गरेका छन्। खोजी तथा उद्धारकर्ताहरूले माटोमा पुरिएका मानिसहरू खोजिरहेका छन्।-यो समाचार विविसीको अनलाइनले सेवाले प्रकाशन गरेको छ ।
