नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी मुख्यालयलाई लेखेको पत्रका सम्बन्धमा भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
प्रचण्डको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएको हुँदा राष्ट्रिय हित, गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको जनाएको छ।
‘२९ सेप्टेम्बर २०२१ मा एमसीसी मुख्यालयलाई प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो,’ प्रचण्डको सचिवालयले भनेको छ।
पत्रको विषयलाई अनावश्यक रुपमा उछाल्न आवश्यक नभएको प्रचण्डको सचिवालयको भनाइ छ। ‘वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन,’ विज्ञप्तिमा उल्लेख छ।
साथै विज्ञप्तिमा एमसीसीबारे अध्ययन गर्न गठित कार्यदलले एमसीसी परिमार्जन बिना पारित गर्न नसकिने निचोड प्रस्तुत गरेको हुँदा परिमार्जन बिना एमसीसी सम्झौता पारित गर्न नहुनेमा पार्टीको स्पष्ट धारणा रहेको उल्लेख गरिएको छ।
प्रचण्डको सचिवालयले अगाडि भनेको छ, ‘हामीले देश र जनताको हितलाई सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौँ। यो परियोजना परिमार्जन बिना पारित गर्नु हुँदैन भन्नेमा हाम्रो पार्टी दृढ छ। यसबारे गरिएका नियोजित प्रचारवाजीको भ्रममा नपर्न सम्पूर्ण पार्टीपङ्ति र न्यायप्रेमी जनसमुदायमा हामी हार्दिक अपील गर्दछौँ।’