प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसीका बारेमा सत्तापक्षको धारणा स्पष्ट पार्न सुझाव दिएको छ ।
आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलका क्रममा एमाले अध्यक्ष ओलीले एमसीसीका बिषयमा पहिले सत्ता पक्षमा स्पष्ट निर्णय हुनुपर्ने बताएका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री देउवाले एमालेलाई एमसीसीलगायतका विषय अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । यस्तै माओवादीका अध्यक्ष प्रचण्डले एमसीसीलाई सङ्घीय निर्वाचन पछाडि मात्रै सम्बोधन गर्ने गरी प्रतिपक्षीसहित आग्रह गरौँ भन्ने धारणा राखेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उक्त सन्दर्भमा सत्ता पक्षले सरकार र गठबन्धनको तर्फबाट प्रष्ट धारणा राख्न एमालेले आग्रह उनले बताए । त्यस्तै प्रधानमन्त्री देउवाले राष्ट्रिय सरोकारका मुद्दामा छलफल हुने वातावरण बनाउन र संसद्को बैठक नियमित कारबाहीमा प्रवेश गर्ने वातावरण बनाउन प्रमुख प्रतिपक्षीलाई आग्रह गरेका थिए ।
एमालले आफूहरू उपस्थित भएर भाग लिने वातावरण बनाउन तयार भएको र त्यसका लागि आफूहरूले कारबाही गरेका १४ सांसदको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले गरेको निर्णयका कारण असजिलो भएको धारणा राखेको पोखरेलले जानकारी दिए । छलफलमा स्थानीय तहको निर्वाचन, कोभिडको खोपको अपचलन र एक विभागीय मन्त्रीले हिंसालाई प्रोत्साहन गरेको र उहाँलाई कुनै कारबाही नभएको सन्दर्भमा एमालले सरकारको ध्यानकर्षण गराएको एमाले महासचिव पोखरेलले जानकारी दिए ।
त्यस्तै कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले स्थानीय तहको निर्वाचन, संसद्को गत्यावरोधको अन्त्य तथा एमसीसीका बिषयमा छलफल भएको र सरकार र प्रतिपक्षीबीच सम्वादलाई निरन्तरता दिने सहमति भएको बताए ।
उनले एमसीसीमा देखिएको भ्रम छिटै अन्त्य हुने र कार्यान्वयनमा जाने धारणा राखे । कार्कीले सवै बिषयमा सकारात्मक रुपमा छलफल भएको र आगामी बैठकमा निष्कर्ष निस्कने जानकारी दिए ।











