बेइजिङ विन्टर ओलम्पिकको उद्घाटन

चीनको बेइजिङ राष्ट्रिय रंगशालामा शुक्रबार साँझ ‘बेइजिङ विन्टर ओलम्पिक २०२२’ को उद्घाटन भएको छ। चिनियाँ समयअनुसार साँझ ८ बजे (नेपाली समयअनुसार साँझ ६ बजे) बेइजिङ विन्टर ‌ओलम्पिकको उद्घाटन भएको हो।

महामारीको समयमा आयोजना भएको यो दोस्रो ओलम्पिक हो। खेलहरू फेब्रुअरी २० तारिखसम्म सञ्चालन हुनेछन्।

यसअघि बेइजिङ आयोजक समितिका उपाध्यक्ष याङ शुआनले सन् २०२२ को शीतकालीन खेलकुदमा सहभागी हुन करिब १ लाख ५० हजार दर्शकलाई आमन्त्रित गरिने बताएका थिए।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबार भएको हो।

९१ राष्ट्रको सहभागिता रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ।

यद्यपि अमेरिका, बेलायत, भारतलगायत विभिन्न देशले कूटनीतिक रुपमा बहिष्कार गरेका छन्। उनीहरूले चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको जनाउँदै ओलम्पिकको उद्घाटन र समापनमा सहभागी नहुने घोषणा गरेका हुन्।

हिउँमा खेलिने खेलमा १०९ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ। ग्लोवल टाइम्सबाट यो समाचार लिइएको हो ।

Photo: Li Hao/GT
Photo: Li Hao/GT