जनताको नजरमा हाम्रा स्थानीय सरकार

हाम्रा स्थानीय सरकारको ५ वर्षे कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ । अब आफ्नो कार्यकालको आत्मसमिक्षा गर्ने, राम्रो काम गरे जनमतबाट पुर्नगमन र नगरे गर्वसाथ बर्हिगमन हुने मनस्थितिबाट अगाडि बढिरहेको देखिन्छ ।

अहिले हाम्रा जनप्रतिनिधीको चिया पसल र चौतारामा फलानोले राम्रो गरेको छ, तिलानोले यस्तो नराम्रो ग¥यो भन्दै आलोचनाको स्वर बाहिर आइरहेको छ । के यसो भन्दैमा सिन्धुलीका ९ वटै स्थानीय सरकार प्रमुखहरु असफल, नालायक र निकम्मानैं बनेका छन् ? के उनीहरु जनता प्रति उत्तरदायि थिएनन् ? बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाकै धज्जी उडाउने काम गरेकै हुन् ? के अहिलेको व्यवस्थानैं खराब हो ? यस्ता अनेकौं प्रश्न अहिले उठ्ने गरेका छन् । अहिलेको व्यवस्था वा स्थानीय सरकार प्रमुखले जनताप्रति गरेका व्यवहारहरु जति नै निर्मम वा क्रूर किन नहोस्, आशावादी हुनु र निरन्तर सुधारका प्रयत्न गर्नु बाहेक हामीसँग अरू कुनै विकल्प पनि छैन । नेतृत्वको उदय शायद भावनाप्रधान मात्र हुँदैन, सामाजिक तथा मनोवैज्ञानिक विकासक्रमका खास चरण र कारण पनि जिम्मेवार हुन्छन् । आफ्नो नगर, गाउँ र जिल्ला बनाउने इच्छा कसलाई नहुँदो हो ? तर, एउटा सफल प्लानर र समयलाई जसले सही ढंगले व्यवस्थापन गर्दछ, त्यो व्यक्तिनैं सफल भएका कैयन उदाहरणहरु छन् ।
हाम्रा स्थानीय सरकार प्रमुखहरु असल र सफल नेतृत्व अभावको बहससँग कहिल्यै जोडिएनन् । आफ्नो कमजोरी र असफलता र आलोचना सुन्नै नसक्ने अबस्थामा पुगिरहे । जनताको काम गर्दा गर्दा खाना खाने समय पनि मिलेन भनेर आफु निकै जनप्रिय भएको ढाडस दिने स्थानीय सरकार प्रमुखले त्यहीनैं आफ्नो असफलता हो भनेर कहिल्यै बुझ्न सकेनन् । यसका निम्ती मुख्य तीन वटा गम्भीर प्रश्न जोडिएका छन् ।
एक ‘राम्रो पालिका प्रमुख’ भनेर कस्तो व्यक्ति खोजिएको होला ? के के काम गर्नेलाई राम्रो नेता वा पालिका प्रमुख भन्ने ? हामीलाई खास चाहिएको सरकार प्रमुख चाहिं कस्तो हो ? कस्ता सरकार प्रमुखलाई राम्रो भन्ने ? कस्तो कस्तो विशेषता, चरित्र र क्षमता भएको पालिका प्रमुख आए राम्रो मान्ने ?
सिन्धुलीमा राम्रा पालिका प्रमुख पनिछन् । समयलाई सही ढंगल व्यवस्थापन गरेर ५ वर्षे कार्यकालमा निर्विवाद ढंगले काम गर्नेमा कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्री अग्र स्थानमा गनिन्छन् । यसको अर्थ सिन्धुलीमा अन्य पालिका प्रमुखले समय र समन्वयको सही ढंगले व्यवस्थापन गरेका छैनन् भन्न खोजिएको भने होइन ।
केही समय अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको सिन्धुली जिल्लाको उजुरीको बिबरणले जिल्ला कुशासन र भ्रष्टाचारको दलदलमा फस्दै गएको हो कि भन्ने त्रासदी पैदा गराउँदछ । तर राजनैतिक आग्रह र पूर्वाग्रहका नाममा गरिने बेनामी उजुरीले आयोगको त्यो बिबरणमाथि प्रश्न पनि उठाउने गर्छ । अब यसो भन्दैमा के सिन्धुलीका स्थानीय सरकार प्रमुखहरु सबै सफेद छन् त ? भन्ने प्रश्न पनि उठ्न सक्छ । पाँच वर्षे शासन कालमा हामी कहाँ चुक्यौं र निर्वाचनका बेला गरेका प्रतिवद्धताहरु पुरा गराउने सन्दर्भमा कतिले सफलता हात पारे ? आत्मसमीक्षा गर्नु आवश्यक छ । शासकीय सफलता र सुशासनका लागि पाँच तत्व आवश्यक पर्ने हुन्छ । प्रतिबद्ध नेतृत्व, स्पष्ट उद्देश्य र प्राथमिकता, परिवर्तन गर्ने क्षमता, प्रभावकारी सञ्चार र दृढनिश्चय । यी सफलताका सूत्रहरूद्वारा एउटा बलियो प्रणाली स्थापना नगरी सुधारको नारा दिनु जनतालाई झुक्याउनु मात्र हो । यही विषयलाई केलाउने हो भने को सफल र को असफल छुट्याउन गाह्रो छैन ।
जनताका विश्वासका मुख्य वाहक भनेका स्थानीय सरकार प्रमुखनैं हुन् । त्यसपछि सार्वजनिक पदाधिकारीहरू र सुशासनका अन्य पात्र । यी सबै पात्रले जनताको ‘ट्रस्टी’ का रूपमा इमान्दार प्रयास गरेमा पालिकामा सुशासन कायम गर्न लामो समय लाग्दैन । माथिका उदाहरणहरूबाट हामीले राम्रा पाठहरू सिक्न र नराम्रा अभ्यासहरू छाड्ने शिक्षा लिन सक्छौं । हामीले स्थापना गरेका संरचनाहरूको कुशल व्यवस्थापन गरी नीतिगत प्रतिज्ञालाई पूरा गर्न अविचलित प्रयास गरेर, जनतासामु गरिएका वाचाहरूलाई अनुभूति हुने गरी पूरा गरेर जनविश्वास जित्न सक्नुपर्छ । भविष्य त्यसको हुन्छ जसले आमूल परिवर्तन गर्छ न कि तिनीहरूको जसले टालटुले सुधार गर्छन् । लोकप्रियतावादी उत्ताउलो काम गर्नुभन्दा प्रणाली बसाउन सकेमा सुशासनले जरा गाड्न सक्छ । हितोपदेशमा वर्णित यो भनाई मननयोग्य छ, ‘जहाँ जीविका, अभय, लज्जा, सज्जनता एवं उदारता हुँदैन त्यहाँ बस्नु हुँदैन ।’ सुशासनको लगाम समाउने स्थानीय सरकार प्रमुखले आफ्ना नागरिकमा यस्तो नैराश्यता उत्पन्न हुने अवस्था आउन दिनु हुन्न । लेखकः नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व सभापति हुन् (साभारः कमलामाई फिचर सेवा)