अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीका प्रतियोगितामा पाकिस्तान र अस्ट्रेलियाबीच भएका खेल हेर्नेले सन् २०१० मा आयोजित टीट्वेन्टी विश्वकपको सेमिफाइनल सम्झने गर्छन्। जित नजिक पुगेको पाकिस्तान अन्तिम समयमा निराश बनेको थियो।
विश्व क्रिकेटमा तहल्का मच्चाइरहेका स्पीनर सइद अजमललाई २० औँ ओभरमा उतारे पनि पाकिस्तानले हार टार्न सकेको थिएन किनभने माइकल हस्सी होनाहार बलरविरुद्ध ‘खह्रो’ उत्रिए। अस्ट्रेलियालाई अन्तिम ओभरमा १८ रन आवश्यक रहेका बेला स्ट्राइकमा मिचेल जोनसन थिए।
अजमललाई पहिलो बलमा एक रन प्रहार गरेर जोनसनले हस्सीलाई स्ट्राइक दिए। त्यसपछि हसीले बाउन्ड्रीको वर्षा गरि दिए। दोस्रो र तेस्रो बलमा छक्का प्रहार गरेका हस्सीले चौथो बलमा चौका प्रहार गरे। पाचौँ बलमा फेरि छक्का प्रहार गर्दै उनले अस्ट्रेलियालाई तीन विकेटको रोमान्चक जित दिलाए। एक सय ९२ रनको लक्ष्य दिएर पनि पाकिस्तान निराश बन्यो।
तर यसपटक पाकिस्तान त्यस प्रकारको निराशाको पक्षमा छैन। जारी टीट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा बिहीबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दा पाकिस्तान आफ्ना साना-साना कमजोरीहरुप्रति समेत चनाखो हुनेछ। यूएईमा नेपाली समयअनुसार राती पौने ८ बजे सुरु हुने खेलमा पाकिस्तान र अस्ट्रेलिया दुवै चनाखो हुनेछन्।
यसपटक पाकिस्तानले सुपर-१२ का सबै पाँच खेल जितेर समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको हो। पहिलो खेलमै भारतलाई १० विकेटले हराएर पाकिस्तानले ऐतिहासिक सफलता हात पारेको थियो। त्यसअघि विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई हराउन सकेको थिएन। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा समेत १० विकेटले जित हात पारेको उसले पहिलो पटक हो।
अस्ट्रेलियाविरुद्ध सफलता हात पार्न पाकिस्तानलाई यस्तै सफलता दोहोर्याउनु आवश्यक छ, किनभने पाकिस्तानले आईसिसी प्रतियोगिताका नकआउट चरणमा अहिलेसम्म अस्ट्रेलियालाई हराउन सकेको छैन। आईसिसी प्रतियोगिताका नकआउट चरणमा पाकिस्तान र अस्ट्रेलिया हालसम्म चार पटक भिडेका छन्। एकदिवशीय विश्वकपको सन् १९८७ संस्करणको सेमिफाइनल, सन् १९९९ को फाइनल र सन् २०१५ संस्करणको क्वाटरफाइनल तथा सन् २०१० को टीट्वेन्टी विश्वकपको सेमिफाइनलमा पाकिस्तानसँग भएको भेटमा अस्ट्रेलिया विजयी भएको थियो।
पाकिस्तानले यूएईमा सन् २०१५ यता कुनैपनि टीट्वेन्टी खेल हारेको छैन। यसबीचमा उसले यूएईमा लगातार १६ टीट्वेन्टी खेल खेलेको छ। पाकिस्तानमा अन्य टोलीले खेल्न अस्विकार गरेपछि उसले यूएईलाई आफ्नो घरेलु मैदान मानेर खेल्दै आएको छ।
पाकिस्तान टीट्वेन्टी विश्वकपमा सन् २००९ पछि पहिलोपटक फाइनल पुग्ने प्रयासमा छ। विश्वकपका सुरुका दुई संस्करणमा फाइनल पुगेको पाकिस्तान त्यसपछि सेमिफाइनल पार गर्न असफल छ। पाकिस्तानले टीट्वेन्टी विश्वकपको दोस्रो संस्करण जितेको थियो।
यसपटक पाकिस्तानी ब्याट्सम्यानहरु शानदार लयमा छन्। प्रारम्भिक ब्याट्सम्यानद्वय बाबर आजम र मोहम्मद रिजवानको लय लोभलाग्दो छ। कप्तानसमेत रहेका आजमले पाँचमध्ये चार खेलमा अर्धसतक बनाएका छन् भने जारी संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा छन्। मध्यक्रममा सोएब मलिक, आसिफ अलीले पनि विस्फोटक ब्याटिङ गरिरहेका छन्। बलर साहिन शाह अफ्रिदी, ह्यारिस रौफको बलिङ पनि विपक्षी ब्याट्सम्यानलाई तनाव दिने खालको छ।
हालसम्म टीट्वेन्टी विश्वकपको उपाधि जित्न नसकेको अस्ट्रेलिया यसपटक त्यो इतिहासलाई बिर्साउन चाहन्छ। अस्ट्रेलिया सन् २०१० को संस्करणमा फाइनलसम्म पुगेपनि उपाधि भिडन्तमा इङ्ल्यान्डसँग पराजित भएको थियो। त्यसयता उसले यो प्रतियोगितामा फाइनल यात्रा तय गर्न सकेको छैन।
यसपटक अस्ट्रेलियाले सुपर-१२ मा एउटा खेल मात्र हारेको थियो। इङ्ल्यान्डसँग पराजित भएपछि अस्ट्रेलिया उपविजेता बनेर सेमिफाइनल पुगेको हो। स्पीनर एडम जाम्पा पाँच खेलमा ११ विकेटसहित प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन्। जोस हेजलउडले पनि ८ विकेट लिएका छन्। डेभिड वार्नरले पाँच खेलमा दुई अर्धसतकसहित एक सय ८७ रन जोडेका छन्।
यो खेलको विजेताले फाइनलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ। इङ्ल्यान्डलाई सेमिफाइनलमा हराएर न्युजिल्यान्ड पहिलोपटक टीट्वेन्टी विश्वकपको फाइनलमा पुगेको हो।










