राजनीति एकीकरणप्रति समाजवादी र राजपाभित्र तिब्र असन्तुष्टि

पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षरपछि सामूहिक फोटो खिचाउँदै दुवै पार्टीका नेताहरु। फोटो डा.बाबुराको ट्वीटरबाट

अप्रत्यासित रुपमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच बुधवार राति एकीकरण गर्ने सहमतिसँगै ती दुबै पार्टीभित्र असन्तुष्टि बढ्ेको छ ।

सरकारले राजनीतिक दल सम्बन्धी ऐनलाई खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि समाजवादी र राजपाभित्रका असन्तुष्ट नेताहरुले पार्टी फुटाउने करिवकरिव निश्चित भएपछि हतारहतार दुबै पार्टीले एकीकरण गर्ने सहमति गरेको हो । दुवै दलका शीर्ष नेतृत्वले पार्टी एकता ऐतिहासिक भएको दावी गरिरहदा त्यही पार्टीका केही नेताहरु पार्टी फुटाउने कसरतमा जुटेका छन् । 

सरकारले ल्याएको अध्यादेश प्रमाणीकरण भएर लागू भए लगत्तै समाजवादी पार्टी र राजपाभित्र हलचल मच्चिएको छ । समाजवादी र राजपाले एकीकरणका लागि छलफल गर्न राजधानीको एक होटलमा बोलाइएको बैठकमा राजपाका अध्यक्षमण्डल सदस्यहरु अनिल झा र राजकिशोर यादव तथा समाजवादी पार्टीकी नेतृ रेणु यादव लगायतका नेताहरु अनुपस्थित रहेका थिए । यसबाट पनि ती दुबै दलभित्र एकीकरणको बिषयलाई लिएर बिवाद रहेको बुझन सकिन्छ । ती सबै नेता राजधानी काठमाण्डौमै रहे पनि एकीकरण गर्न बोलाइएको बैठकमा अनुपस्थित भएर असन्तुष्टिको संकेत दिएका छन् ।
 
हुन त राजपाका अध्यक्षमण्डल सदस्यद्वय राजकिशोर र अनिल दुबै समाजवादीसँग यसअघि पनि एकता गर्ने पक्षमा थिएनन् । समाजवादीसँग एकिकरण गर्नुअघि पार्टीको महाधिबेशन गर्नुपर्ने र त्यसपछि सबै नेताको सही व्यवस्थापन हुने गरी एकता गर्नुपर्ने पक्षमा यादव र झा थिए । फुटको संघारमा पुगेको दुबै पार्टीलाई फुटबाट जोगाउन एकीकरण गर्नुपर्ने बाध्यता भएर हतारहतार एकीकरण गरिए पनि थुप्रै नेताहरु अझै एकीकरणप्रति सन्तुष्ट हुन नसकेको राजपाका एक नेताले बताएका छन् । एकीकरणका लागि बुधवार राति बोलाइएको बैठकमा झा र यादव दुबै नेतालाई पटकपटक फोन गरेर बैठकमा बोलाए पनि उनीहरु बैठकमा नआएको ती नेताको भनाइ छ । यसबाट पनि राजपाका अध्यक्ष मण्डल सदस्यद्वय यादव र झा एकीकरणको बिषयमा सन्तुष्ट नरहेको धेरैको बुझाइ छ । पार्टी एकिकरणप्रति दुबै नेता असन्तुष्ट रहेको र भित्रभित्र पार्टी फुटाउनका लागि लागेको श्रोतको दाबी छ । हामीले पनि दुबै नेतालाई फोन गरेर पार्टी एकीकरणको विषयमा प्रतिक्रिया लिन खोजिए पनि दुबै जना फोन सम्पर्कमा आउन चाहेनन् । यसले पनि श्रोतको दाबीलाई बल पुगेको छ ।

राजपाभित्र मात्रै होइन,समाजवादीभित्र पनि एकीकरणको विषयमा असन्तुष्टि बढेको पाइएको छ । केही समयदेखि पार्टी अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट देखिएका उपाध्यक्ष रेणु यादव र नेता मोहम्मद इस्तियाक राइनसहितका नेताहरु पार्टी बिभाजन गरी संघीय सरकारमा समाबेश हुने संकेत दिएको छ । 

पार्टी संघीय सरकारमा गएका बेला आफुलाई मन्त्री नबनाएको र पार्टीको प्रदेश २ को नेतृत्वका बारेमा गरिएका निर्णय जस्ता कुराले उपाध्यक्ष रेणु यादव अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट बनेको श्रोतको दाबी छ । यसैको आक्रोशमा रेणु यादवले एक महिनाअघि पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएर पार्टी फुटाउनेसम्मको चेतावनी दिएकी थिइन । तर, पार्टीका केही नेता तथा कार्यकर्ताहरुको आग्रहमा रेणुले राजीनामा फिर्ता लिएर तत्कालका लागि पार्टी बिभाजनको निर्णयबाट पछि हटेकी थिइन । 

पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीलाई लिएर पार्टीका नेता इस्तियाक राइन पनि असन्तुष्ट छन् । यस्तै पार्टी एकलौटी चलाएको र उचित अवसर नदिएको भन्दै सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले समेत सांसद पदबाट राजीनामा दिएका थिए । पार्टीका नेतृत्व पंक्तिबाट केही आश्वासन पाएपछि राजीनामा फिर्ता लिए पनि त्यसयता उनी पार्टीको कार्यमा खासै क्रियाशील छैनन् । त्यसैले यी नेताहरु पार्टी फुटाएर छुट्टै पार्टी बनाउने कसरतमा लागेको एक नेताले बताए । असन्तुष्ट समूहका पक्षमा आठ जना सांसद रहेको र उनीहरु छुट्टै बैठक बसेर पार्टी फुटाउने तयारी गरिरहेको ती नेताको कथन छ । उपेन्द्र यादव पक्षले भने उनीहरुको छ जनाभन्दा एक जना पनि बढी नभएको दावी गरेको छ ।