भारतको राजधानी दिल्लीबाट आएका बालक कोरोना संक्रमित रहेको पुष्टि भएको छ।
प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर टेस्ट नेगेटिभ आएका बालकको रिपोर्ट काठमाडौँमा पोजेटिभ आएको हो । प्रदेश २ को सर्लाही जिल्ला धनकौल गाउँपालिकाका १४ वर्षीय युवा कोरोना संक्रमित रहेको स्थास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।
गत चैत २३ गते भारतको दिल्लीबाट आएका बालकको र्यापिड टेस्ट पोजेटिभ आएपछि थप परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको थियो ।
प्रादेशिक अस्पतालमा पिसिआरबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि रिपोर्ट शंकास्पद रहेकोले थप परिक्षणको लागि काठमाडौँ पठाइए पछि रिपोर्ट पोजेटिभ आएको स्थास्थ्य निर्देशनालय प्रदेश २ का प्रशासकिय अधिकृत विजय झाले बताए।
गत शुक्रवार बालकको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई थप परिक्षणको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पिसिआर चेकजाँचका लागि ल्याईएको थियो । तर यहाँ रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि बालकलाई घर पठाइएको थियो।
बालकको रिपोर्ट पोजेटिभ आएकोले अब बालकलाई उपचारको लागि ल्याउने प्रशासकिय अधिकृत झाले बताए। उनले भने, ‘बालकको रिपोर्ट पोजेटिभ आएकोले हामी बालकलाई पहिला घरबाट क्वारेन्टाईमा ल्याउँछौ र उपचारको लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल नभए सप्तरीको गजेन्द्रनारायण सगरमाथा अस्पतालको आइशोलेशनमा पठाउँछौ।’
बालक कोरोना संक्रमित भेटिएकोले बालकको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने र घर परिवारका व्यक्ति सहित तिनीहरुको समेत कोरोना परिक्षण गर्ने बताए। बालक दिल्लीमा मजदुरी गर्दै आएको खुलेको छ।
प्रदेश २ मा सर्लाहीका बालक कोरोना संक्रमित रहे सँगै संक्रमितको संख्या ५ पुगेको छ। यसभन्दा पहिले पर्सामा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने पछि रौतहटमा समेत एक जना कोरोना संक्रमित रहेको पुष्टि भएको थियो।