अफगानिस्तानबाट भागेका राष्ट्रपति अशरफ ग़नीले खाडी देश संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका छन् ।
तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति ग़नीले गएको आइतबार देश छोडेका थिए ।
युएईको विदेश मन्त्रालयले मानवीय नाताले ग़नी र उनको परिवारलाई स्वागत गरिएको बताएको छ ।
बुधबार भिडियो सन्देश जारी गरेर ग़नीले आफ्नो देश छोड्ने निर्णयको बचाउ गरेका छन् । गम्भीर विपदको अवस्था आउन नदिएका लागि आफूले देश छोडेको उनको भनाई छ ।
उनले भनेका छन्, ‘अहिले म युएईमा छु र रक्तपात र अव्यवस्था रोकियो । अफगानिस्तान फर्किनका लागि म अहिले वार्तामा छु ।’
उनले आफू ठूलो मात्रामा पैसा लिएर भागेको भन्ने हल्ला पूर्ण रुपमा आधारहीन रहेको पनि बताएका छन् । रुसले ग़नी हेलिकप्टर तथा कारभरि पैसा लिएर भागेको दाबी गरेको थियो ।
७२ वर्षका ग़नीले विपदका बेला देश छोडेको भन्दै अफगान राजनीतिज्ञद्वारा तीव्र आलोचना भइरहेको छ । शान्ति वार्ता तथा राष्ट्रिय पुनर्स्थापना उच्च परिषदका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले भनेका छन्, ‘ईश्वरले उनलाई सजाय दिने छन् र राष्ट्रपति पनि मूल्यांकन गर्ने छ ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अफगान सरकारको आलोचना गरेका छन् । गएको सोमबारको सम्बोधनमा बाइडेनले आवश्यक परेका बेला समस्याको सामना गर्नु पर्नेमा देश छोडेर भागेको भन्दै ग़नीसहितका नेताको आलोचना गरेका हुन् ।
बुधबार नै अमेरिकाकी उपविदेश मन्त्री वेन्डी शर्मनले ग़नी अफगानिस्तानको प्रतिनिधि नरहेको बताएकी छन् । तर अहिलेसम्म औपचारिक रुपमा सत्ता हस्तान्तरण नभएकाले ग़नीलाई राष्ट्रपति नै भनिने विदेश मन्त्रालयले उल्लेख गरेको छ ।
फेसबुकमा लाइभ गरिएको भिडियो सन्देशमा राष्ट्रपति ग़नीले आफूलाई सुरक्षा बलले राष्ट्रपति निवासबाट बाहिर जान सहयोग गरेको बताएका छन् । जुत्ता पनि लगाउन नभ्याएको उनले दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘घटनाक्रम निकै तीव्र गतिमा विकसित भयो । म तालिबानसँग समावेशी सरकारका लागि वार्ता गर्न चाहन्थेँ । तर परिवेश त्यो बनेनँ ।’